राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिए
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
791
Shares
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।
नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ छन् ।
गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु रहनुभएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।
यसैबीच, आयोगले २०७३ माघ २० गतेभन्दा अघि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने उल्लेख गरेको छ ।
त्यस्ता व्यक्तिको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगानामा भएको स्थानीय तहको वडामा सार्ने सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।