यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिलाई प्रयोग हुने शब्दावलीमा विशेष ख्याल गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
847
Shares
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले आफूहरुमाथि प्रयोग भइरहेको शब्दावलीमा विशेष ख्याल गर्न आग्रह गरेका छन् ।
मिडिया र आम नागरिकहरुले आफूहरुमाथि अपमानजनक र सिमित लैङ्गिक पहिचान भएका व्यक्तिहरुका लागि प्रयोग हुने शब्द मात्र प्रयोगमा ल्याएकाले त्यसमा सुधार गर्न माग गरेका हुन् ।
राइट हेयर, राइट नाउको सहयोगमा निल हिरा समाजले विहीबार गरेको एक कार्यक्रममा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समूदायका व्यक्तिहरुलाई ‘तेस्रोलिङ्गी’, ‘समलिङ्गी’ मात्र नभनी ‘‘एलजीविटीआइक्वेर’ वा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदाय नै भनेर सम्बोधन गर्न आग्रह गरिन ।
‘हामीभित्र पनि फरक फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरु हुनुहुन्छ । ति सबैको अधिकारका लागि हामीले आवाज उठाइरहेका छौं । त्यसैले एक मात्र पहिचानको शब्द मिडियामा आउँदा अरुको आवाज ओझेल पर्ने भएकाले शब्दावलीमा ख्याल गर्न आग्रह गर्दछु,’ उनले भनिन् ।
कार्यक्रममा अन्य वक्ताहरुले यौनिक तथा लैङ्गिक समूदायका सवालमा संविधानमा व्यवस्था भए पनि नीति निर्माण तहमा पुग्दा मुद्दाहरु बिर्सने गरेको र कार्यान्वयन फितलो भएको गुनासो गरे । समूदायका व्यक्तिको प्रजनन र सामाजिक अधिकार अझै कुन्ठित गरिएको उनीहरुको भनाइ छ ।
नेपालमा भइरहेको पहिचानको अधिकारबारे संयुक्त राष्ट्रसंघ सकरात्मक भएको भए पनि नेपालका प्रदेश तथा केन्द्रीय सरकारले नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्न अझै आनाकानी गरिरहेको बताए ।
कार्यक्रममा पत्रकार बबिता बस्नेतले यौनिक तथा लैङ्गिक समूदायका विषयमा मिडियाहरुले प्रशस्त कभरेज गरे पनि त्यो पर्याप्त नभएको बताइन । उनले समूदायभित्रकै व्यक्तिहरु पत्रकारिता क्षेत्रमा सक्रियतापूर्वक सहभागीता जनाउन आब्हान पनि गरिन् । कार्यक्रममा अभियन्ता अनोज पिटर राईले एलजिबीटिआइ समूदायको अवस्थाबारे प्रष्टाएका थिए । भक्ति शाहले आफ्नो अनुभव सुनाएका थिए ।