arrow

बाह्र वर्षे मकर मेला तयारी तीव्र

logo
राजकुमार पराजुली,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
makar_sakranti.jpg

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक-सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ । आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भब्य बनाउनका लागि नगरपालिकाले हाल विविध व्यवस्थापनको तयारीलाई तीव्र पारिरहेको छ । मेलाका लागि नगरले गत वर्षदेखिनै बजेट विनियोजन गर्दै तयारी थालेको हो । 

नगरले मेलाका लागि गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको थियो । उक्त बजेटबाट पनौतीमा भौतिक पूर्वाधारलगायतको व्यवस्थापन तयारी भइरहेको नगरले जनाएको छ । मेलाको तयारी तीव्ररुपमा भइरहेको नगरप्रमुख भीम न्यौपानेले बताए । नगरले गत वर्षदेखिनै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ-त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो । “विनियोजित बजेटमा अपुग भए नगरबाटै खर्च गर्ने व्यवस्था मिलाइनेछ”, न्यौपानेले भने । उनका अनुसार कोरोना भाइरस् सङ्क्रमणको उच्च जोखिम नभए ५० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको छ । 

मकर सङ्क्रान्तीबाट सुरुहुने मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाटसमेत तीर्थालु आउने गर्छन् । नगरप्रमुख न्यौपानेका अनुसार हाल ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान-कुण्ड सरसफाई एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत नगर ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायतका व्यवस्थापनको काम भइरहेको छ । हरेक बाह्रवर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रमसमेत थालिएको छ । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । 

त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना सञ्चालन गरिरहेको छ । उक्त स्थानमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पूण्य मिल्ने धार्मिक आस्था छ । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । उक्त मेलालाई थप व्यवस्थित बनाउन पनौतीसँग जोडिएका सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नती भइरहेको छ भने स्तरोन्नती भइरहेको बनेपा-पनौती सडकमा पक्की गर्ने काम करिब अन्तिम चरणका पुगेको छ । मेला अवधिभर ट्राफिक जाम कमगर्न निर्माणाधीन पनौती-बनेपा (पूण्यमाता करिडोर)ले पनि निकै राहत दिलाउने अपेक्षा गरिएको छ । 

मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले यो पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिगार्नुपर्ने जिम्मेवारी पनि छ । जसमध्ये पनौतीभित्रका मठ-मन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर-तोरणले झिलीमिली बनाइनेछ । साथै, पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गर्नुपर्नेछ । मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानको लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पूण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना द्रुत गतीमा अघि बढाइएको छ । 

नगरले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्नेछ । पनौतीबाट चन्ले सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला-२०७८, पनौती’ लेखिएको स्टिकर तथा फ्लेक्स टाँगिनेछ । नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार वटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत-सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निमाण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ । 

राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पूण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरुपमा बहिरहेको मान्यता रहेको छ । 

भारतको प्रयागमा गङ्गा र यमुना नदीको संगममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आइएको छ । मेला अवधभिर मल्पी ड्यामबाट नियमितरुपले रोशी खोला तथा मल्पी-लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइने योजना छ । यसका लागि मकर मेला सुरु हुनु हप्ता पहिले खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ