arrow

‘क्रिसमस डे’ मनाउन प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई निम्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
cristmas.jpg

काठमाडौं ।  राष्ट्रिय ख्रिष्टीयन महासंघ नेपालले भोलि शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीमा क्रिसमस मनाउने बताएको छ । क्रिसमसको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो जानकारी दिएको हो ।

महासंघले भोलि आयोजना गर्ने कार्यक्रम ‘येशु ख्रीष्टको शुभजन्मोत्सव ख्रीष्टमस २०७८ तथा नयाँ वर्ष २०२१ को शुभकामना आदानप्रदान’ नाम दिएको छ । महासंघले डिसेम्बर २५ अर्थात् ‘क्रिसमस डे’ सारा मानव जातिका मुक्तिदाताको रुपमा तथा सबै मानवलाई परमेश्वर पितासँग मिलाप गराएका मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाता प्रभु येशु ख्रीष्टको जन्मदिनको रुपमा मनाउँदै आएको पनि जनाएको छ ।

साताव्यापी रुपमा विश्वभर मनाइने ख्रीष्टमसको उपलक्ष्यमा सम्पुर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि महासंघले शुभकामना पनि दिएको छ । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिबी गहतराजले क्रिसमसको अवसरमा सबैलाई शुभकामना दिए । उनले विगत लामो समयदेखि बाटो–बाटोका हरियो रुखमा बत्ति बाल्दै नेपालमा १०औं हजार चर्चमा क्रिसमस मनाइँदै आएको उल्लेख गरे ।

गहतराजले क्रिसमसको पुर्वसन्ध्यामा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न तहमा कार्यक्रमको आयोजना गरेर येशु ख्रीष्टको जन्मोत्सव मनाइरहेको बताए । उनले भोलि देशव्यापी रुपमा कमलादी प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम २ बजेपछि सुरु हुने पनि जनाए । अध्यक्ष गहतराजले कार्यक्रमलाई सफल पारिदिन सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

ख्रीष्टमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी तथा धेरै उच्च व्यक्तित्वहरुलाई अतिथिको रुपमा निमन्त्रणा दिएको उनले सुनाए । अर्को वर्ष विश्वकै सबैभन्दा अग्लो धरहरा भन्दा क्रिसमस–ट्री बनाउने योजना भएको अध्यक्ष गहतराजले सुनाए ।

कार्यक्रममा महासंघकी सहअध्यक्ष रिता थापाले संसारभरिको इसाईहरुले क्रिसमस चाड मनाउने बताइन् । येशु ख्रीष्ट सम्पुर्ण राष्ट्र र मानव जातिको दाता भएको भन्दै प्रभु ख्रीस्टको जन्म मानिसहरुको उद्धारकर्ताको रुपमा भएकोसमेत जिकिर गरिन् । उनले क्रिसमस नेपालमामात्र नभएर संसारभरि रहेका मानिसहरुले मनाउने उल्लेख गरिन् । नेपाली इसाई धर्मालम्बीहरुले अन्य धर्मालम्बीहरुले जस्तै सेल रोटी खाएर क्रिसमस चाड मनाइने सुनाइन् ।

त्यस्तै, गैरआवासीय विभागका प्रमुख डा. प्रकाश मेघी गुरुङले अमेरिकामा बसेको १७ वर्षको अनुभवमा कुनैपनि वर्ष नेपालमा आएर क्रिसमस मनाउने अवसर नपाएपनि यसपाली त्यो मौका पाउँदा खुशी लागेको सुनाए । 


 



नयाँ