arrow

१२ माघको निर्वाचनलाई १२ दल दर्ता, १९ पद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
election-commission167.jpg

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १२ राजनीतिक दलले भाग लिने भएका छन् । शनिबारसम्म तोकिएको म्यादभित्र १२ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन् । 

त्यस्तै लोसपा प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेमकिपाले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र भाग लिने भएका छन् । नौ दलले सबै प्रदेशमा र तीन दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् । 

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १ देखि १० गतेसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो । 

१९ पदका लागि हुने निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेश सभाका ५३२ मतदाता रहनेछन् । निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । 

आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र  कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ। 

निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ। 

प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ