arrow

इतिहासकै ठूलो जेम्स वेब स्पेस टेलिस्कोपले कसरी गर्छ १३ अर्ब वर्षअघिको ब्रह्माण्डको अध्ययन ?

ब्रह्माण्डको उत्पत्तीबारे अध्ययन गर्न इतिहासकै ठूलो स्पेस टेलिस्कोप अन्तरिक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
James-Webb-Space-Telescope.jpg

काठमाडौं। फ्रान्सेली गुयानाको कोउरो स्थित युरोपको स्पेस पोर्ट भनेर चिनिने गुयाना स्पेस सेन्टरबाट शनिबार इतिहासकै ठूलो स्पेस टेलिस्कोपको सफल प्रक्षेपण भएको छ । २१ मिटर लामो र १४ मिटर चौडा जेम्स वेब स्पेस टेलिस्कोपको तौल ६ हजार ५ सय किलोग्राम रहेको छ ।

यसलाई हबल स्पेस टेलिस्कोपको उत्तराधिकारी समेत भनिएको छ । बिग ब्याङ्ग पछि ब्रह्माण्डको सुरुवाती चरण, आकाशगङ्गाहरूको विकास, तारा र ग्रह प्रणालीको विकास क्रम, ग्रह प्रणाली र जीवनको उत्पत्तिलगायतका विषयमा जेम्स स्पेस टेलिस्कोपले अध्ययन गर्नेछ ।

यसको अर्थ जेम्स वेब स्पेस टेलिस्कोपले बिग ब्याङ्ग भएको १० करोड वर्षपछिका गतिविधिहरू देख्न सक्नेछ । त्यति बेला ताराहरू र आकाशगङ्गाहरूको उत्पत्ति र विकास हुन थालेको थियो ।

बिग ब्याङ्ग १३ अर्ब ८० करोड वर्षअघिको घटना भन्ने अनुमान गरिएको छ । जेम्स वेब स्पेस टेलिस्कोपले १३ अर्ब ७० करोड वर्षसम्मदेखियताका गतिविधिको अध्ययन गर्न सक्नेछ ।

कस्तो छ जेम्स वेब स्पेस टेलिस्कोप

यो टेलिस्कोपले माइनस २३० डिग्री सेल्सियस तापक्रममा काम गर्न सक्नेछ । यसले आउँदो १९ वर्षसम्म काम गर्न सक्ने छ ।

प्रक्षेपणको मितिदेखि ३० दिनमा यो टेलिस्कोप पृथ्वी र सुर्यबीचको लगरेन्ज बिन्दु एल२ मा रहनेछ र त्यहाँबाटै काम गर्ने छ । जुन पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा हो । पृथ्वी र चन्द्रमाबीचको दुरी करिब ३ लाख ८४ हजार किलोमिटर रहेको छ ।

धेरै ठुलो आकार भएका कारण यो टेलिस्कोपलाई रकेटको सामान बोक्ने बाकसमा राख्न कठिनाइ भएका कारण यसलाई विभिन्न टुक्रामा खोल्न मिल्ने गरी बनाइएको थियो ।

यसैकारण ३० दिनको क्रममा टेलिस्कोपका सबै टुक्राहरू आवश्यकता अनुरूप जडित हुनुपर्ने छ जुन निकै कठिन प्रक्रिया हुन जानेछ ।

जेम्स वेब स्पेस टेलिस्कोपको ६.५ मिटर लामो ऐना

जेम्स वेब स्पेस टेलिस्कोपको ६.५ मिटर लामो ऐना सुनले लेपिएका १८ वटा बेरिलियमका षट्भुजका टुक्राले जडित छ । यस्तै टेलिस्कोपको तापमानलाई सन्तुलित पार्ने २१ मिटर लामो र १४ मिटर चौडा पाँच वटा सनशिल्ड पनि रहेका छन् । 

टेलिस्कोप एल२ मा अवस्थित हुने यो ३० दिनको अवधिमा ऐना, शनशिल्डलगायतका अन्य सबै वैज्ञानिक उपकरणहरूको जडान हुनेछ ।

सबै चरण सफल हुँदै गएमा अबको करिब ६ महिनादेखि यसले पृथ्वीमा जानकारीहरू पठाउन थाल्नेछ । जेम्स वेब टेलिस्कोपको पूर्ण नियन्त्रण पृथ्वीबाट हुनेछ ।

सनशिल्डसहितकाे जेम्स वेब स्पेस टेलिस्काेप

जेम्स वेब स्पेस टेलिस्कोपले कसरी देख्छ १३ अर्ब वर्षअघि ?

जसरी सूर्यबाट पृथ्वीमा प्रकाश आउन करिब ८ मिनेट लाग्छ अर्थात् हामी सूर्य ८ मिनेट कस्तो थियो भनेर देखिरहेका हुन्छौँ । सूर्य हरायो भने हामीले ८ मिनेटपछि मात्रै थाहा पाउँछौँ ।

यसरी नै बिग ब्याङ्ग पछिका पहिलो ताराहरूको प्रकाश अर्बौँ वर्षअघिदेखि आइरहेको अर्थात् यात्रामा हुन्छ ।

अर्बौं वर्ष पहिले देखिएको उक्त तारा अथवा उक्त ताराबाट आएको प्रकाशकै आधारमा जेम्सले वेबले अर्बौँ वर्ष पहिले तारा कस्तो थियो भनेर देख्छ ।

हबलसँग तुलना गर्दा                सन् १९९० मा ३० वर्षसम्म काम गर्ने लक्ष्यले प्रक्षेपण गरिएका हबल स्पेस टेलिस्कोपले अहिलेसम्म काम गर्दै आएको छ ।

हबल भन्दा थप अत्याधुनिक प्रविधिको जेम्स वेब स्पेस टेलिस्कोपले कार्य अवधि १० वर्ष भनिएको छ । हबलमा २.४ मिटर लामो ऐना थियो भने, जेम्स वेबमा ६.५ मिटर लामो ऐना छ ।

हबलको तौल १२ हजार ६ सय किलो थियो भने जेम्स वेबको तौल ६ हजार ५ सय किलो रहेको छ । हबलले २० डिग्री सेल्सियसमा काम गर्न सक्थ्यो भने, जेम्स वेबले माइनस २३० डिग्री सेल्सियसको तापक्रममा काम गर्न सक्नेछ ।

सन् १९८९ मा नै जेम्स वेब स्पेस टेलिस्कोप निर्माण गर्ने प्रक्रिया अघि बढ्दा सन् १९९० देखि काम सुरु भएको थियो । लामो समयपछिको ढिलाइ र निर्माणपछि झन्डै ९ अर्ब अमेरिकी डलरको टेलिस्कोप अहिले अन्तरिक्षमा प्रक्षेपण भएको हो ।

'हामी को हौँ, हामी के हौँ, यसले हामीलाई हाम्रो ब्रह्माण्ड र यसमा हाम्रो स्थानको विषयमा थप बुझाउने छ,' नासाका प्रशासक बिल नेल्सनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ