arrow

 उत्तरगयाधाममा श्राद्ध गर्नेको घुइँचो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
betrabati-uttargayadham.jpg

रसुवा । रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा पौषे औंसीमा श्राद्ध गर्नेको आज बिहानैबाट घुइँचो लागेको छ । धार्मिक एवं पवित्र त्रिशूली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पौषे औंसीका दिन दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर श्राद्ध गर्नेको भीड लागेको हो । 

उत्तरगयाधाममा हरेक वर्ष पौषे औंसीका दिन हजारौंले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दू धर्माबलम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गरेका छन् भने बौद्ध धर्माबलम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरूले मन्त्र पढ्ने र बत्ती बालेका छन् । उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंसीका दिन आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास छ ।

देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकुट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको वेत्रगंग र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको जनविश्वास छ ।

पौषकृष्ण औंसीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरूले सके बर्सेनी र नसके जीवनमा एकपटक भए पनि श्राद्ध गर्ने चलन छ । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशूली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रूपमा पिण्डदान गर्ने चलन छ । 

चार गयामध्ये तीनवटा गया भारतमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने भक्तजनको भनाइ छ । श्राद्ध गर्न रसुवासहित नुवाकोट, धादिङ, काठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्कीलगायतका स्थानका मानिस उत्तरगया आउने गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ