arrow

एनआरएनएको डेलिगेट्स चयन विधि र विधान अनुसार भए चुनावमा जान तयार छौं: कुल आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
kul-achryaa.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले  भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको बताएका छन् । संघको  रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरुमा भएको कमी कमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।

उनले डेलिगेट्स समस्या समाधान गर्ने भन्दा आफुलाई दोष दिएर उम्कन खोजेको बताए ।  ‘जुनजुन देशहरुबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन गर्नुस् । विधि विधानबाट डेलिगेट्स चयन होस् । त्यसो भयो भने हामी भोलि चुनावमा जान्छौं‘’  उनले भने, ‘विभिन्न यो वा त्यो बहानामा डेलिगेट्स थपघट गर्ने काम बन्द गरेर सुधारेर अघि बढ्नुस् । हाम्रो तर्फबाट केही पनि रोकेका छैनौं । सहमति, वार्ताका लागि तयार छौं । सबैलाई सम्हालेर नेपाल सरकारसँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहन्छौं ।’ भ्रमका कुरा धेरै नफैलाउन उनले आग्रहसमेत गरे ।

कुनै कार्यकारी पदमा नरहेर पनि नेपाल र नेपालीको हितको लागि आफुले निरन्तर काम गरिरहेको उनले बताए। आचार्यले चाहेको बेला विदेशी मुद्रामै  फिर्ता ल्याउन मिल्ने गरी  एनआरएनहरुलाई डलर अकाउन्ट खोल्न नेपाल सरकारले ल्याएको योजनाको स्वागत गरे। उक्त योजनाबाट लाभान्वित  हुन उनले एनआरएनहरुलाई आग्रह पनि गरे।

विमानस्थलमा गैर आवासीय नेपालीहरुका लागि एनआरएन डेस्क व्यवस्थित गर्ने, दोहोरो नागरिकता कार्यान्वयन गर्ने सवालमा पनि नयाँ वर्षमा प्रगति होस् भन्ने उनले कामना गरे।

आफैभित्र सुखी र खुसी हुन सकिने

नयाँ वर्ष २०२२  को अवसरमा भर्चुअल माध्यमबाट आयोजित खुला डबली कार्यक्रममा बोल्दै ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नयाँ वर्ष सन् २०२२ मा सुख, समृद्धि र आनन्द छाओस्  भन्ने  प्रार्थना गरे ।

 स्वामी अरुणले बाहिर आनन्द खोज्न भौंतारिने मान्छे आफैभित्र सुखी र खुसी हुन सकिने बताए । उनले नेपाललाई आध्यात्मिक देश बनाउनुपर्नेमा जोड दिँदै बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउन प्रस्ताव गरे। 

 ‘हामी सबै अरुको नभएर आफ्नै मनबाट पीडित र गुलाम हौं । मन बडो बदमास छ । मनले जिन्दगीभरि डोर्याउँछ । पद, मानमा पनि सुख खोज्छौं’, उनले भने, ‘मर्ने बेलामा पनि दुस्खी हुनुपर्छ । जीवनमा पनि बाटो देखाउन चिल्लो गाडी, राम्रो लुगा, भित्रबाटै सुखी मान्छे म धेरै कम देख्छु । सुखका बाहिरी खोज मनको धोका हो ।’

उनले सधैं मनले पूरा नभएका काम भएपछि मात्रै सुखी हुन सक्ने उपाय खोजिरहने उदाहरण सुनाए । ‘अविवाहितहरु विवाहपछि सुखी हुने आस गर्छन्, विवाहितहरु डिभोर्सपछि सुखी हुने कल्पना गर्छन्,’ आनन्द अरुणले भने, ‘भविष्यमा सुखी हुने कल्पना हुन्छ । मनले धोका खाइरहेका हुन्छौं । अरु व्यक्तिले जस्तै  हाम्रो मनले ठग्छ । मनलाई बुझ्नु नै संसारको आवश्यकता हो ।’

चिया मीठो हुनलाई चिनी चाहिएजस्तै जीवनलाई मीठो  बनाउन एक चम्चा आध्यात्म मिसाउन स्वामी अरुणको सुझाव छ । सबै जीव सुखी हुन चाहने र अधिकांश खोज र प्रयास सुखी आनन्दित हुनका लागि भएको उल्लेख गरे ।

सुख कहाँ छ ? भन्ने प्रश्न गर्दै स्वामी अरुणले  भने, 'खाना, छाना र नाना हाम्रो आवश्यकता भएको। अरु सबै चाहना कहिल्यै पनि पूर्ण हुंदैनन्।’ उनले हरेक दिन २० मिनट योग, २० मिनट प्राणायाम र २० मिनट ध्यान  गरेर सुखी र स्वस्थ जीवन जिउन सुझाव पनि दिए ।

त्यसैगरी कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले मनमा दुस्खका भारी, बोझ बढ्दै जाँदा, अहंकार, दम्भका आवेग बढ्दा पनि स्वामी आनन्द अरुणकोमा पुग्ने बताए । सुख, दुस्खमा आफू त्यहाँ पुग्ने बताए । मान्छेको अहंकारलाई ढाल्ने अस्त्र आध्यात्म भएको उनले बताए । ‘हिजो बितिसक्यो, भोलि आएकै छैन, रमाउने भनेको आजै भर्खरै हो,’ कलाकार गजुरेलले भने । समता विद्यालयका संस्थापक उत्तम संजेल, पत्रकार गुणराज लुइँटेलले पनि कार्यक्रममा शुभकामना दिएका थिए।  गायक शिशिर योगी र एनआरएन आइडलकी विजेता कविता महतले गीत सुनाएका थिए ।

एनआरएन क्यानाडाका अध्यक्ष दीपक गौतमले संचालन गरेको कार्यक्रममा एनआरएनएका सचिव आर के शर्मा, मध्यपूर्व  युवा संयोजक राज रेग्मी, मध्यपूर्व संयोजक प्रबिण गुरुङ, युरोप संयोजक नारायण आचार्य, एसिया प्रशान्त क्षेत्र संयोजक गोविन्द श्रेष्ठ रोविन्द, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष सुनील साह,  एनआरएन अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिवका उम्मेदवार डा केशव पौडेल, उपाध्यक्ष पद्की उम्मेदवार जानकी गुरुङ, महिला संयोजक पदका उम्मेदवार जुनु गुरुङ, युरोप उपसंयोजक उम्मेदवार दयानिधि सापकोटा, एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगर, अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, स्पेनका अध्यक्ष शालिकराम डुम्रे लगायतले शुभकामना दिएका थिए। -जीएनएन 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ