arrow

रेडक्रसमा ओली नेतृत्वको समितिको स्थानमा नयाँ पदाधिकारी नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
NEpal-Redcross.jpeg

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गरेकी हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका रेडक्रसका पदाधिकारी र सदस्यलाई मन्त्री रेग्मीले नियुक्ति पत्र प्रदान गरेकी हुन् । 

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले तदर्थ समितिलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएकी छन् । “तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नुहोला’’, मन्त्री रेग्मीले भनिन्, “नयाँ कार्य समिति चयन गर्न तपाईंहरु सफल हुनुहोस् ।’’ 

यसअघि केपी ओली नेतृत्वले नियुक्त गरेका तदर्थ समितिले अधिवेशन गर्न सकेको थिएन । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ समितिको चुनाव तीन महिनाभित्र गर्ने कार्यादेश दिएर तदर्थ समिति गठन गरेको मन्त्री रेग्मीले जानकारी दिइन् । 

“फेरि तीन महिना थप्नुपर्ने अवस्था नआओस्’’, कार्यकाल सफलताको शुभकामना दिँदै उनले विधि, विधान मानेर प्रक्रियाअनुसार तीन महिनाभित्र अधिवेशन गराउन तदर्थ समितिलाई निर्देशन दिइन् । अघिल्लो सरकारले रेडक्रसलाई छिन्नभिन्न बनाउने काम गरेको बताउँदै मन्त्री रेग्मीले कानूनविपरीत काम गर्दा रेडक्रसका कर्मचारी आन्दोलित बनेको उल्लेख गरिन् । 

उनले तदर्थ समितिलाई तत्काल रेडक्रसमा भइरहेको कर्मचारीको आन्दोलन रोक्न र कर्मचारीको सुरक्षा गर्न तदर्थ समितिलाई निर्देशन दिइन् । मन्त्री रेग्मीको निर्देशनपछि नियुक्तिपत्र बुझेर रेडक्रसमा पुगेको तदर्थ समितिले कर्मचारीको आन्दोलन स्थगित गराएको छ । 

मन्त्री रेग्मीको निर्देशनपछि नै तदर्थ समितिका नवनियुक्त अध्यक्ष सुदर्शनप्रसाद नेपालले भोलिसम्म कर्मचारीका जायज माग सम्बोधन गर्न वार्ता समिति नै बनाउने प्रतिबद्धता जनाएको मन्त्री रेग्मीको निजी सचिवालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ