arrow

आमाबाबुको हत्यारा छुटेको भन्दै जेल हाल्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
jha-.JPG

काठमाडौं । महोत्तरीमा गत वर्ष भएको झा दम्पती हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ । झा दम्पती हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै छोरा मनिष झाले आफू र परिवारसमेत असुरक्षित भएको भन्दै तत्काल जेल हाल्न माग गरेका हुन् । 

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मनिष झाले जेल हाल्नुपर्नेलाई रिहा गरेर असुरक्षित बनाएको बताए । उनले आफूहरूमाथि अन्याय भएको बताए । २०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पतीको हत्या भएको थियो । प्रहरीले लामो अनुसन्धानपछि अभियुक्तहरूलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । 

मृतक झा दम्पतीका छोरा मनिषले १ जना अभियुक्तलाई जिल्ला अदालतले र ३ जनालाई पुनरावेदन अदालतले धरौटीमा छाडिदिएको बताए । उनले आफ्नो आमा बुवाको हत्यामा संलग्न अभियुक्तहरूलाई जेलमा राखेर कारबाही गर्न माग गरेका छन् । 

मनिष झाले हत्यारा तोकेकाहरू ७ जना मध्ये जिल्ला अदालतले तारादेवी यादवलाई कोभिडको कारण र ६५ वर्ष पुगेको भन्दै धरौटीमा छाडेको सुनाए । बाँकी रहेका ६ जना अभियुक्त मध्ये पनि ३ जनालाई पुनरावेदन अदालतले धरौटीमा रिहा गरेकोमा असन्तुष्टि पोखे ।

उनले भने ‘अभियुक्तहरू सुरेन्द्र यादवलाई ५ लाख, बब्लु झालाई २ लाख र रजिन्द्र झासँग ५ लाख लिएर पुनरावेदन अदालतले छाडिदिएर हामीलाई निकै अन्याय गर्‍यो ।’ उनले पुनरावेदन अदालतले अन्यायमा परेको भन्दै अब आफूहरू सर्वोच्च अदालत जाने बताए । उनले रुँदै भने, ‘म निकै दुखी छु, मेरो आफ्नो भन्ने आमा बालाई नै पापीहरूले मारिदिए । मलाई न्याय मिलाइदिनुहोस् ।’ 

‘कैलाश झाले आफ्नै घरमा एक महिना राखेको, विकास झाले थाहा नपाउने हुन्छ ? ४ वटा कोठा, ४ जना मात्र भएको घरमा एक महिना शव राख्दा कसरी थाहा पाएनन् ? कुन तथ्यमा अभियुक्तहरूलाई छाडियो ? सुरेन्द्र यादवको कपडामा रगत लागे पनि मानिसको रगत नभई घरमा कलर लगाएको भनेर पुनरावेदन अदालतले छुटायो । तर जिल्ला अदालतले मानिसको रगत लागेको भनी दोषी ठहर गरेको थियो,’ मनिषले भने । 

उनले न्यायका लागि साथ दिन आग्रह गरे । उनले भने, ‘मलाई न्याय दिनुस्, उनीहरू जेलबाट छुटिसकेका छन् मलाई पनि डर लागिरहेको छ । असुरक्षित महसुस गरिरहेको छु । म अपाङ्ग भएकोले अपराधीहरूले घटना घटाएका हुन् ।’ मनिषले जति जना दोषी ठहर गरिएको छ तिनीहरू सबैलाई कारबाही भएर सधैँ जेल राख्न उनले माग गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ