- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मकवानपुर । मकवानपुरका सार्वजनिक सवारीले विद्यार्थीलाई भाडामा छुट नदिए आफूहरू आन्दोलनमा जाने चेतावनी विद्यार्थीहरूले दिएका छन् ।
नेकपा एमाले निकट विद्यार्थी सङ्गठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको हो ।
आज हेटौँडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरूले विद्यार्थीहरूलाई भाडा छुट नदिएको बताए । उनले भने: ‘सार्वजनिक बसहरूले विद्यार्थीहरूलाई भाडा छुट नदिएको धेरै गुनासो आए सँगै हामीले विद्यार्थीले पाउनुपर्ने अधिकारको लागि सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउने र अटेर गरे आन्दोलनमा उत्रने निचोड निकालेका छौ’ ।
उनले काठमाडौँ उपत्यकामा भाडा छुट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए । उनले यसअघि पनि सार्वजनिक बसहरूले भाडा छुट नदिएको रअनेरास्ववियुमकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरूले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए ।
भाडाको विषय लामा व्यवसायीहरूले अटेर गर्ने,अवहेलना गर्ने र विद्यार्थीलाई गलत व्यवहार गर्ने गरेको पाइएको र आफ्नो माग सम्बोधन नभए भाडा छुटलाई संस्थागत गर्न पुनः आन्दोलनमा उत्रने विद्यार्थीको भनाई छ ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिव सदस्य एवं मकवानपुर इन्चार्ज किशन घिसिङले भाडा छुट काठमाडौँ उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनात्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए ।
उनले मकवानपुरको हकमा मनहरी,भीमफेदी,मकवानपुरगढी र हेटौँडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरूले भाडा छुट नपाउँदा विद्यार्थी बढी मर्कामा पर्ने गरेको बताए ।
उनले जिल्लाका १० वटै स्थानीय तहलाई विद्यार्थीको भाडा छुटको अधिकारलाई सुनिश्चित गर्न अनेरास्ववियुले ध्यानाकर्षण गर्ने बताए ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष द्वय अमृत बर्तौला,भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुयाँल,सचिवालय सदस्यहरू आशिष् रौनियार, मनिस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।