रेडियोमा सबैभन्दा लामो अन्तर्वार्ता लिएर विश्व कीर्तिमान बनाए निरौला र शेर्पाले
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
652
Shares
सोलुखुम्बु । नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान बनाएका छन् ।
पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्ता लिएर यसअघि अष्ट्रेलियामा भएको कीर्तिमान तोड्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन् ।
‘पर्यटन र जनवायु परिवर्तनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गएको कार्तिक २२ गते सोमबार विहान ७ः३५ बजे शुरु भइ कार्तिक २३ गते मङ्गलबार बिहान ९ः०१ बजेसम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाडौंमा आयोजना गरिएको थियो ।
निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुन् भने पर्यटनविद् शेर्पा एफएम सञ्चालक समितिका उपाध्यक्ष हुन् । निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले सोमबार मान्यता दिएको छ ।
अधिकारिक मान्यता पाएपछि कीर्तिमानी पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरब महसुस भएको बताए ।