- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्जेन्टाइन एवं फ्रेन्च क्लब पीएसजीका फुटबल स्टार लियोनल मेसी र इजिप्सियन एवं इङ्गलिश क्लब लिभरपुलका स्टार मोहम्मद सलाहलाई पछि पार्दै रोबर्ट लेवान्डोस्कीले फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् ।
जर्मन क्लब बायर्न म्यूनिखबाट व्यवसायीक खेल खेल्दै आएका पोलिस स्ट्राइकर लेवान्डोस्कीले सन् २०२१ को फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।
३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए । उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए ।
यी हुन् अन्य विजेता
फिफा वर्ष खेलाडीको मनोनयनमा पर्न असफल पोृर्चुगिच एवं इङ्गलिश क्लब म्यानचेष्टर युनाइटेडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले भने विशेष अवार्ड पाएका छन् । रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो ।
स्पेनिश क्लब सेभियाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड, इङ्गलिश क्लब चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका छन् ।
महिलातर्फ स्पेनिश क्लब बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छिन् ।
डेनिश फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जितेको छ ।