arrow

सहारा पहिलो खेलमै पराजित, एपीएफ क्वार्टरफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
apf-sahara-2022.jpg

पोखरा । आयोजक सहारा क्लबलाई पराजित गरी सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा शुरु भएको आहा रारा गोल्डकप फुटबलमा सुखद् शुरुआत गरेको छ । उद्घाटन खेलमा एपीएफले सहारालाई २–० गोलअन्तरले हराएको हो । १४औं मिनेटमा आशिष लामिछानेको गोलबाट अग्रता लिएको एपीएफका लागि ६०औं मिनेटमा प्रदीप लामाले अर्को गोल थपेका थिए ।

जितपछि एपीएफका प्रशिक्षक कुमार थापाले अपेक्षाकृत नतिजा निकालेको बताए । ‘हामीले सोचेको जस्तै नतिजा आयो । अर्को खेलमा केही नयाँ शैलीले खेल्नुपर्छ,’ उनले भने, ‘आयोजक कमजोर टिम थिएन । जीत हामीले निकाल्यौं ।’

आयोजक सहाराका टिम प्रशिक्षक प्रदीप हिराचनले टिमको सेट नमिलेका कारण खेल गुमाएको बताए । ‘हामीसँग सेट टिम थिएन । खेलाडीहरू ढिलो गरी पोखरा आइपुगे,’ उनले भने, ‘यति छोटो अवधिमा सेट मिलाउनै गाह्रो भयो । यत्तिको खेल राम्रै हो ।’ 

जितसँगै एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एपीएफले अन्तिम आठमा भुटनीज युथ सकर क्लबसँगको भेट पक्का गरेको हो ।

प्रतिस्पर्धामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने छन् । प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ ।



नयाँ