- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । सरकारी कर्मचारीको लापरबाहीका कारण सेवा ग्राहीले सास्ती खेप्दै आइरहनु परेको छ । नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमीन अर्कोको नाममा कित्ताकाट भएपछि सेवाग्राहीले सास्ती खेपिरहनु परेको हो ।
आफ्नो नामको जमीनबाट अर्कोको नाममा कित्ताकाट भएपछि संशोधनको लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिँदासमेत बेवास्ता गरेको गुनासो पीडितको रहेको छ ।
साबिक हथियाई गाविस वडा नम्बर ६ हाल कटहरिया नगरपालिका वडा नम्बर २ निवासी दुर्गा देवी सिंह र कमला देवी सिंहको हथियाई वडा नम्बर ४ (ख) जमुनियास्थित कित्ता नम्बर ७३ को १ कट्ठा ४ धुर जमिन लाई नापी कार्यालयका अमिन धनवीर चौरसिया र तत्कालीन नापी अधिकृत शिव शरण साहको मिलेमतोमा सोही स्थान निवासी रवीन्द्र कुमार साह कलवारको नाममा पूर्व पटी साढे दश धुर जमीन रहे पनि कित्ताकाट गर्ने क्रममा दुर्गादेवी सिंह र कमलादेवी सिंहको जमीनको दक्षिण पूर्वबाट साढे दश धुर जमीनको कित्ताकाट गरिदिएपछि नापिका कर्मचारीको बदमासी बाहिर आएको छ । कित्ता नम्बर ७३ कित्ताकाट गरेर ३९५, र ३९६ बनाउने क्रममा नापीका कर्मचारीले बदमासी गरेका कारण सेवाग्राहीले हैरानी खेप्नुपरेको हो ।
नापी कार्यालय चन्द्रनिगाहपुरका अमिनले आर्थिक चलखेलमा कित्ताकाट गर्दा एकको जमीन अर्कोमा गाभिदिने गरेको पाइएको छ ।
कित्ताकाट गर्दा गुमेको आफ्नो जमीन फिर्ताको लागि तीन महिना देखि नापी कार्यालय चन्द्रनिगाहपुर धाउँदा समेत बेवास्ता गरेको गुनासो पीडित महिलाहरूको छ । २०६९ चैत ९ गतेको मालपोत कार्यालयको निर्णय अनुसार विपरीत नापी कार्यालयले गरेको कित्ताकाटका कारण सेवाग्राहीले दुख भोग्नु परेको हो ।