arrow

एमाले र लोसपाबीच सहकार्य, जनमत पार्टी पनि साथमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
kp-oli-mahantha-thakur.jpg

काठमाडौं । माघ १२ गतेको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सहकार्य गर्ने भएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एमालेसँग सहकार्य गर्ने लिखित सहमति भएको लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले बताए । 

लोसपा स्रोतका अनुसार मधेस प्रदेशको हकमा एमाले र लोसपाबीच सहकार्य गर्ने लिखित सहमति भए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि लोसपाले एमालेका उम्मेदवारलाई भोट दिने मौखिक सहमति भएको छ । 

लोसपाका एक नेता भन्छन्, ‘एमालेसँगको यो सहमति आगामी निर्वाचनसम्म जाने सम्भावना छ ।’ लोसपाका नेता सोनालले भने आगामी निर्वाचनसम्म सहकार्य गर्ने सहमति अहिले नै नभएको बताए । उनले भने, ‘त्यो पछिको कुरा हो । राजनीतिमा त्यो सम्भावना पनि कायमै छ ।’

एमाले र लोसपाको सहकार्य यो पहिलो पटक भने होइन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उनलाई जोगाउन महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरुले धेरै प्रयास गरेका थिए । उनीहरु सरकारमै गएका थिए । ठाकुर र महतोले ओलीलाई सघाएवापत् तत्कालीन जनता समाजवादी पार्टी विभाजन भयो र ठाकुर महतो लगायतका नेताहरु जसपाबाट अलग भए । त्यसपछि उनीहरुले लोसपा गठन गरे ।  

ओली सरकार विघटन पछि पनि एमाले र लोसपाबीचको सम्बन्ध यथावत् छ । एमाले र लोसपाका नेताहरुले सार्वजनिक रुपमा एक अर्कोलाई गाली र आलोचना गर्ने गरेका छैनन् । ओली प्रधानमन्त्रीबाट हटे पनि ओलीलाई भेट्न ठाकुर र महतो बेला बेलामा ओली निवास बालकोट जाने गर्छन् । 

अझै स्मरणीय कुरा के छ भने मधेसमा प्रभाव जमाउँदै गएका जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पछिल्लो समय एमाले र लोसपासँग नजिक देखिएका छन् । 

अहिले राउतको सम्बन्ध जसपासँग बिग्रेको छ । एकले अर्काका कार्यक्रम बिथाल्ने सम्मका धम्की दिएका छन् । जसपाले शनिबार निकालेको विज्ञप्तिमा राउतको चर्को आलोचना गरिएको छ । राउतले सार्वजनिक रुपमा लोसपाका नेताहरुको आलोचना गर्ने गरेका छैनन् । 

जनमत पार्टीका कार्यकर्ताहरुले पनि लोसपाका कार्यकर्ताहरुलाई चिढाएका छैनन् । ‘अहिले मधेसमा जनमत पार्र्टी र लोसपाबीच टक्कर देखिएको छैन । बरु जनमत र जसपाबीच सोझो टक्करको अवस्था सिर्जना भएको छ’, लोसपाका एक नेताले बताए । 

ओली प्रधानमन्त्री भएको बेला राउत राष्ट्रको मूल धारमा आएका थिए । मूल धारमा आउने बित्तिकै उनले जनमत पार्टी गठन गरेका थिए । अहिले मधेसमा जनमत पार्टीको नाममा राउतले विभिन्न किमिसका गतिविधि हुँदै आएका छन् । 

जनमत पार्टीको गतिविधिबाट पहिलो तारो जसपाका कार्यकर्ताहरु परेका छन् । यसबाट आगामी निर्वाचनमा जसपा र जनमत पाटीबीच टक्कर हुने भएको छ । यसको फाइदा लोसपाले उठाउने भएको छ । 

‘घोषित होस् या अघोषित होस् आगामी निर्वाचनमा एमाले, लोसपा र जनमत पार्टी एक ठाउँमा आउने अवस्था प्रवल छ’ लोसपाका एक नेताको विश्लेषण छ । 

आगामी निर्वाचनसम्म जसपा र लोसपाबीच सहकार्य हुने सम्भावना छैन । त्यसको कुनै सम्भावना नरहेको दुवै पार्टीका नेताहरुले सार्वजनिक रुपमै भन्ने गरेका छन् । 

लोसपा र जसपा दुवै पार्टीको आधार भूमि मधेस हो । 
 



नयाँ