- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिमार्फत ८८ जना तथा एन्टीजेनमार्फत १५८ जनामा कोरोना पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६१, महाकाली अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा १३ र एन्टीजेनमार्फत कञ्चनपुरमा ७५, कैलालीमा १५, डडेल्धुरामा १५, बझाङमा आठ, बाजुरामा १६, डोटीमा पाँच, बैतडीमा १५, अछाममा पाँच र दार्चुलामा चार जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १८८ जना कोरोनाबाट निको भएका छन् । सो अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि सोमबार सुदूरपश्चिममा ४१३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १९४ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ ।