arrow

पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाइने

logo
रासस
प्रकाशित २०७८ फागुन ३ मंगलबार
Khelkud-mantralya.jpg.jpeg
फाइल तस्वीर

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ ।

नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले कुन खेलबाट कहिलेसम्म पदक हासिल गर्न सकिन्छ त्यसको स्तर निर्धारणसहित आवधिक कार्ययोजना ल्याइने बताए ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएको लगभग छ दशक भइसकेको छ । नेपालले सन् १९५१ देखि एशियाली, सन् १९६४ देखि ओलम्पिक र सन् १९८४ देखि  दक्षिण एशियाली खेलकुद प्रतियोगितामा भाग लिँदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आजसम्म ओलम्पिक प्रतियोगितामा १३, एशियाली खेलकुदमा १८ र दक्षिण एशियाली खेलकुद (साग)मा १३ पटक सहभागी भई २०८ वटा पदक प्राप्त गरेको छ । एशियाली गेम्समा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा रजत र कास्य गरी २४ पदक प्राप्त गरेको तथ्याङले देखाएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का अनुसार विसं २०७७ सम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीको सङ्ख्या एक हजार ८६० छ । सचिव रेग्मीका अनुसार अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा  नेपालले पदक प्राप्त गरेका खेल विधा करिब ३० छन् ।

विगतका अनुभव र अभ्यासका आधारमा मन्त्रालयले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको बढी सम्भावनायुक्त र अलि बढी मेहनतको खाँचो रहेको खेल विधाको यकिन गरी कार्ययोजना तयारी गर्दैछ । दक्षिण एशियाली खेलकुदमा नेपालले कराते, गल्फ, टेबल टेनिस, कुस्ती, साइक्लिङ, एथलेटिक्स, आर्चरी, महिला वीचभलिबल र भलिबल, पौडी, टेनिस, फुटबल, महिला फुटबल, जुडो, तेक्वान्दो र क्रिकेटमा पदक हासिल गरिसकेको छ ।

महिला क्रिकेट, महिला र  पुरुष खोःखोे, महिला हयाण्डबल, महिला कबड्डी, व्याडमिन्टन, ट्रायथलन, भारत्तोलन, बक्सिङ र फेन्सिङमा नेपालको खेल गौरव गर्न लायक नै छ । एशियाली खेलकुद प्रतियोगितामा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा पदक प्राप्त गरिसकेको छ ।

विश्वको सबैभन्दा ठुलो प्रतियोगितामा ओलम्पिक प्रतियोगितामा  नेपालका तर्फबाट एथलेटिक्स, बक्सिङ, जुडो र पौडी विधाले प्राथमिकता पाउँदै आएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सबै विधामा पदकको सुनिश्चित नभई आक्कलझुक्कल रूपमा पदक पाएको तथ्याङ्क छ ।

टेबलटेनिस, बास्केटबल, वीचभलिबल, महिला भलिबल, टेनिस, स्वक्वास, पुरुष र महिला खोःखो नेपाली खेलाडीले अलि मेहनत बढी गर्न पर्ने तर पदकको सम्भावना बोकेका खेल विधा हुन् ।

महिला ह्यान्डबल, कबड्डी, व्याडमिन्टन र हाइअल्टिच्युडमा पदक प्राप्तिका लागि नेपालका तर्फबाट थोरै प्रतिभा निखार गर्न सकिने खेल विधाका सूची हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक प्राप्त गर्न सबैभन्दा पहिलो आफ्नो नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न जरुरी छ ।

सचिव रेग्मी भन्छन्, “सबैभन्दा पहिले राष्ट्रिय रेकर्ड तोड्न आवश्यक छ । आफ्नै रेकर्ड तोड्न नसकेपछि कसरी अर्काको रेकर्ड तोड्न सकिएला ! अबको तयारी भनेको पहिला राष्ट्रिय, अनि साग, एशियाली हुँदै ओलम्पिकमा पदक प्राप्तिको विषय आउँछ ।” नेपालले आफ्नो रेकर्ड तोड्नासाथ सार्कमा मुलुकको खेलकुद स्तर राम्रो हुने र त्यसले एशियाली खेलकुदमा पदक हासिल गर्न ऊर्जा र प्रेरणा प्रदान गर्ने छ । 

खेलकुद विधालाई सशक्त र प्रभावकारी तुल्याउने उपयुक्त पूर्वाधार निर्माण, प्रतिभावान् खेलाडी पहिचान र नियमित अभ्यास र प्रतियोगिता आवश्यक पर्छ । नेपालले आगामी एशियाली खेलकुदका लागि सागका स्वर्ण पदाधिकारी खेलाडी छनोट गरी नियमित तालिम र प्रशिक्षण चलाउँदै आएको छ ।



नयाँ