arrow

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, चैत ७ गते हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
NRNA_1618131765.jpg
फाइल तस्बिर

काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ। एनआरएनए निर्वाचन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ।

कार्यतालिका अनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ। फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी मार्च २ मा दाबी विरोधमाथि निर्णय, मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।

मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनय पत्रको जाँच र उजुरीमाथि निर्णय र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ।

यसै गरी मार्च ११ मा उम्मेदवारले मनोनयन फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९:५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान समाप्त भए लगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए। 

सङ्घको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर रु १० लाख तोकिएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर शपथ ग्रहण अगाडि बुझाउनु पर्नेछ।

एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सह कोषाध्यक्ष र एक महिला सह कोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ। अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, छ क्षेत्रीय संयोजक, छ क्षेत्रीय उपसंयोजक, छ क्षेत्रीय महिला संयोजक, छ क्षेत्रीय महिला उपसंयोजक र छ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ।

एनआरएनए निर्वाचनका लागि सङ्घले अधिवक्ता भीमसेन बञ्जराको संयोजकत्वमा सचिव भूषण घिमिरे (जापान) तथा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (बेलायत) र डा विष्णुमाया परियार (अमेरिका) सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ।

सङ्घको इतिहासमा पहिलो पटक अनलाइन प्रणालीबाट निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डर छनोट भइसकेको निर्वाचन समितिले जनाएको छ।

सङ्घको निर्वाचनका लागि प्रविधिलगायत अन्य पूर्व तयारी भइसकेको छ। अनलाइन मतदानका लागि महाधिवेशन प्रतिनिधि (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ