- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनबाट यो संस्था अत्यन्तै विवादित देखिएको छ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर १९,२०२३ मा अष्ट्रेलियाको भेरो कम्पनीले अनलाइनमार्फत गराएको चुनावमा निष्पक्ष नभएको र धाँधली भएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गरी एउटा समूहले एआरएनएकै नाममा समानान्तर कमिटी बनाएर आफूलाई आधिकारिक भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतबाट बधाई तथा शुभकामना ग्रहण गरिसकेको छ ।
यसरी स्वघोषित समानान्तर कमिटीलाई मान्यता दिँदै उनीहरूलाई आधिकारिक रूपमा भेटेर बधाई र शुभकामना दिँदा स्वयं प्रधानमन्त्री नै विवादमा तानिएका देखिन्छन् । निर्वाचन समितिले आधिकारिक रूपमा घोषणा गरेको कमिटीकै विरुद्धमा प्रधानमन्त्री नै अगाडि आई अर्को कमिटीलाई साथ दिनु अत्यन्तै निन्दनीय देखिन्छ ।
जब एनआरएनएको निर्वाचनमा धाँधली वा विवाद देखा पर्यो भनेपछि प्रधानमन्त्रीले विजेता र स्वयं घोषित विजेता भनिएका दुवै टिमलाई मिलाएर अगाडि लैजानु पर्नेमा निर्वाचन समितिबाट घोषणा भएको टिम भन्दा अर्को टिमलाई साथ दिनु भनेको प्रधानमन्त्रीको कमजोरी हो । प्रधानमन्त्रीले यसलाई तत्काल रोकेर मिलाउने बाटोमा जानुपथ्र्यो ।
प्रधानमन्त्रीको एकपक्षीय यस्तो गतिविधिले यो संस्थालाई झन् विवादित बनाउन खोजेको देखिन्छ । निर्वाचनमा गडबडी भएको थियोे भने त्यसका थुप्रै कानूनी उपाय थिए । समाधान खोज्नतिर लाग्नु पर्नेमा आ–आफ्नै तरिकाले कमिटी गठन गर्दै हिड्नु सिङ्गो संस्थाकै अपमान गरिनु हो । आम जनचासोको विषय भनेको अहिलेको आधिकारिक एनआरएनए भनेको को हो त ?
प्रधानमन्त्रीबाट बधाई खाएको टिम वा एमालेले साथ दिएको र निर्वाचन समितिबाट घोषणा भएको भनिएको टिम । यसको समाधान तुरुन्त खोजिनु पर्छ । आपसी छलफलबाट नभए कानूनी उपचारबाट भए पनि निकास तुरुन्त निकाल्नु पर्छ । एनआरएनएलाई नेतृत्वविहीन बनाउनु हुँदैन ।
खासमा अहिलेको नेपालको तरल, अस्थिर र विकृत राजनीतिमा नेपाल बाहिरका नेपालीहरूको यो साझा संस्था गैर आवासीय नेपाली संघ नराम्ररी फसेको देखिन्छ । यी क्रियाकलापले नेपाल बाहिर रहेका करिब असी लाख नेपालीहरूको सामाजिक संस्था भनेर चिनिएको एनआरएनएको साख नै गुमेको छ । अहिलेको एनआरएनएमा रहेको किचलो र भाँडभैलो देख्दा आफूलाई एनआरएन भन्न पनि लाज लाग्ने भएको छ ।
‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै दुई वर्ष पहिले एनआरएनएमा तीन जना अध्यक्ष बनाइएको थियो । एनआरएनएको दशौँ सम्मेलनमा नेपालका राजनीतिक दलहरूलाई यस संस्थामा प्रत्यक्ष नै हस्तक्षेप गर्ने अवसर दिइयो र अन्ततः एघारौँ महाधिवेशनमा आउँदा एनआरएनए फुट्यो । नेपाली राजनीतिका मूलधार भनिएका पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ता जस्तैलाई कार्यसमितिमा आलोपालो वा भागबण्डाकै आधारमा काम गर्ने गरी अध्यक्षलगायत अन्य पदहरूमा टीका लगाइयो ।
दुई वर्षे कार्यकालमा तीन जना अध्यक्षले काम गर्ने गरी सम्मेलन सकिएको गाईजात्रा नै देखाइयो । यसभन्दा पहिले पनि यस संस्थामा केही गुट र उपगुटहरू देखिएकै थिए । तापनि नेपालका राजनीतिक दलहरूको प्रत्यक्ष र औपचारिक टीका र हस्तक्षेप भने यसको दशौँ सम्मेलनबाट नै भएको थियो ।
आजको एनआरएनएको लडाइँ वा विवाद भनेको केवल यतिबेलाकै अथवा एघारौँ महाधिवेशनमा देखिएको तात्कालिक समस्यामात्र होइन । यो दशौँ महाधिवेशनमा नै बिजारोपण गरिएको टीके प्रणाली र भागबण्डाको परिणाम हो । एनआरएनएलाई फुटाउने र विवाद सिर्जना गर्नमा प्रत्यक्ष रूपमा प्रमुख भूमिका नेपालका प्रमुख राजनीतिक दलहरूकै रहेको देखिन्छ ।
एनआरएनएका केही स्वार्थी गुट र समूहलाई नेपालका राजनीतिक पार्टीले बोकेर हिँडे अनि उनीहरूलाई स्थान दिए । यसले गर्दा संस्थाभित्र विकृत राजनीतिले प्रवेश पायो । एनआरएनएको निर्वाचनको बेला पनि राजनीतिक पार्टीहरूले यो हाम्रो मान्छे, त्यो उसको मान्छे भन्दै भोट माग्दै हिँडेका थिए । एनआरएनएका प्रतिनिधि पनि पार्टीको पुच्छर बनेर यिनीहरूले साथ देलान् र जितौँला भन्दै पछाडि पछाडि हिँडेकै थिए । निर्वाचनमा जसरी पनि जित्नु पर्ने नेपाली राजनीतिको संस्कार एनआरएनएमा पनि छिर्यो । परिणाममा संस्था नै फुट्यो ।
अहिले नेपालका प्रमुख राजनीतिक दलहरूको प्रमुख उद्देश्य भनेको सत्ता र निर्वाचन मात्रै रहेको छ । उनीहरूलाई नेपाल र नेपाली जनताका बारेमा कुनै चासो, चिन्ता र चिन्तन नै छैन । ३४ वर्षदेखि लगातार सत्ता र कुर्सीभन्दा अरु केही सोच्नै सकेका छैनन् । उनीहरूको राजनीतिक उद्देश्य भनेको जसरी हुन्छ सत्तामा टिकिरहने र निर्वाचनमा पनि जितिरहने । यसको लागि निर्वाचनमा मत त चाहियो । त्यो निर्णायक मत देश बाहिर छ । त्यो देश बाहिर रहेको मतलाई आफ्नो पोल्टामा ल्याउने एउटा मुख्य उपाय भनेको एनआरएनए भित्र घुस्नु र हस्तक्षेप गर्नु नै हो ।
आज देशका सचेत युवा वर्गभरि परदेशमा छन् । उनीहरू आफूहरूले निर्वाचनमा मतदान गर्न नपाए पनि उनीहरूका घरका परिवारको भोट कसलाई दिने भन्ने निर्णय उनीहरूमा नै रहेको हुन्छ । यसैले नै नेपालका दलहरू एनआरएनए जस्तो विशाल संरचना भएको संस्थाभित्र छिरेर राजनीति गर्न खोजेको स्पष्ट नै देखिन्छ ।
यिनीहरूले एनआरएनएलाई आ–आफ्ना दलका सम्पर्क केन्द्र र भ्रातृ संगठन जस्तै बनाउन खोजिरहेका छन् । त्यसैले पनि यस्तो साझा, विशाल र पवित्र संस्थालाई आफ्नो पक्षमा ल्याइ त्यसभित्र आफ्नो संगठन बलियो बनाउन अनेक प्रयत्न गरिरहेका छन् ।
आज विश्वका विभिन्न देशहरूमा यो दलको एनआरएनए र त्यो दलको एनआरएनए भन्ने सुनिएकै छ । नेपालका दलका नेताहरू पनि विदेश घुम्न जाँदा एनआरएनको यो पक्षीय र त्यो पक्षीय भनेर विभाजन गरिएको पाइन्छ । अहिलेको एघारौँ महाधिवेशनमा पनि नेपालका दलहरूले आ–आफ्ना प्रतिनिधि बोकेर प्रतिस्पर्धामा उत्रिएका नै थिए ।
एनआरएनए जस्तो सामाजिक संस्थाभित्र विकृत राजनीति छिर्नाले निर्वाचनमा धाँधली गर्ने, परिणामलाई अस्वीकार गर्ने, समानान्तर कमिटी बनाउँदै जाने जस्ता गलत क्रियाकलाप हुँदै गएका देखिन्छन् । यो अत्यन्तै गलत, निन्दनीय र गैर जिम्मेवार प्रवृत्ति हो । यसले संस्था अत्यन्तै कमजोर हुँदै जान्छ ।
नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ सन् २००३ मा बेलायतमा भेला भएका नेपालीहरूले जुन लक्ष्य र उद्देश्य अनुसार यो संस्थालाई स्थापना गरे, वास्तवमा अहिले आउँदा त्यो लक्ष्य र उद्देश्यलाई व्यवहारमा उतारेको देखिएन ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) प्रवासी नेपालीहरूको साझा, पवित्र र स्वच्छ संस्थाका रूपमा स्थापित गरिएको थियोे । तर अहिलेको यो दृश्य हेर्दा नेपाली राजनीतिक दलहरूका लागि एनआरएनए भन्ने जस्तो देखिएको छ ।
केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ र पदलोलुपताले गर्दा पनि आज यो संस्था यति कमजोर अवस्थामा पुगेको हो । अहिले यो संस्थामा पछिल्लो प्राप्त तथ्यांकअनुसार स्थापनाको दुई दशक वित्दा विश्वका ८७ मुलुकमा राष्ट्रिय समन्वय परिषद् गठन गरी एक लाख छ हजार ९ सय १२ पञ्जिकृत सदस्य रहेका छन् ।
विश्वभर फैलिएको यस्तो ठूलो विशाल संस्थामा अहिलेको सदस्य संख्या भने अत्यन्तै न्यून देखिन्छ । यो संख्या हेर्दा सबै प्रवासी नेपालीहरूलाई यो संस्थाले अझै संगठित गर्न नसकेको स्पष्टै देखिन्छ । यति विशाल आकार ग्रहण गरेको संस्थामा बीसौँ लाख सदस्य हुनुपर्ने हो । तर त्यो हुन सकेको छैन ।
संस्थाको विकास र विस्तार हुँदै जाँदा पछिल्लो चरणमा यो संस्थामा नेपाली विकृत राजनीतिको प्रवेशले गुट र उपगुटहरू जन्मिएर आज संस्था नै विभाजित भएको छ । केही समूहले यसैको नाममा पहिलेदेखि नै अर्को समानान्तर संस्था पनि चलाइरहेकै अवस्थामा यस संस्थाको ११ औँ महाधिवेशनपछि पनि यसकै नाममा अर्को समानान्तर कमिटी नै बन्नुले संस्थाको उन्नति होइन, अवनति देखिन्छ । गत असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको महाधिवेशनबाट आउने नेतृत्वबाट नेपालको आर्थिक समृद्धिको लागि महत्वपूर्ण एजेन्डासहित प्रस्तुत होला भन्ने ठूलो आशा गरिएको थियोे । तर त्यो आशामा तुषारापात भएको छ ।
आज देश सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक र आर्थिक दृष्टिकोणले अत्यन्तै सङ्कटग्रस्त अवस्थामा पुगेको देखिन्छ । यस्तो अवस्थामा एनआरएनएले केही गर्छ कि भन्ने आशा थियोे । तर एनआरएनए नै विकृत राजनीतिको जालोभित्र नराम्ररी फसेको देखिन्छ । अहिलेको एनआरएनएको यो नेतृत्वले नेपालको अराजकतालाई रोक्न र आर्थिक पक्षलाई सकारात्मक गतिमा लैजान सक्ने कुनै सम्भावना नै देखिँदैन ।
नेपालको वर्तमान चित्र अत्यन्तै दर्दनाक छ । आज नेपालमा प्रजातन्त्र प्राप्ति भएको तीन दशक बित्दा पनि उल्लेखनीय उपलब्धिहरू हुन सकेका छैनन् । नेपालमा व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्थामा परिवर्तन हुन सकेन । संविधानमै समाजवाद उन्मुख समाज निर्माण गर्ने भनेर लेखिए पनि संविधानकै कार्यान्वयन हुन सकेको छैन ।
राजनीतिक अस्थिरताकै कारण केही शक्तिले व्यवस्थामाथि नै प्रश्न उठाइरहेका छन् । नेपाली जनतामा चरम निराशा देखिन्छ । केही व्यक्ति वा समूह लोकप्रियताका नाममा सामाजिक अराजकता निम्त्याउन खोज्दैछन् । नेपाल बाहिरको नेपाल भनेर चिनिएको एउटा जिम्मेवार संगठित संस्था एनआरएनए नेपालको शान्ति, सुव्यवस्था, सुशासन र आर्थिक समृद्धिको पक्षमा सहयोगी हुनु पर्नेमा नेपाली राजनीतिको महारोगभित्र आफैँ फस्न पुगेको छ ।
देश बनाउन चाहिने अधिकांश ऊर्जावान र दक्ष युवाशक्ति बाहिर नै रहेकाले यसलाई फर्काउन, तिनीहरूमा रहेको पूँजी, सीप र क्षमतालाई नेपाल भित्र्याउन गैर आवासीय नेपाली संघले पहल र नेतृत्व गर्नुपर्नेमा अहिले संस्थालाई नै सङ्कटावस्थामा पुर्याइएको छ । यो अत्यन्तै दुःखदायी कुरा हो ।
अहिले विश्वभर छरिएर रहेका करिब ८० लाख प्रवासी नेपालीको आस्था र भरोसाको केन्द्र बन्नु पर्ने एनआरएनए नेपालका दलहरूबाट निर्देशित, निश्चित व्यक्ति र निश्चित समूहलाई मात्र बोकेर हिँडेकोले सांगठनिक रूपमा कमजोर र खुम्चिदै गएको हो । यो संस्थाभित्र यो व्यक्ति त्यो पार्टीको र ऊ व्यक्ति यो पार्टीको भनेर टीका लगाई पदको भागबण्डा गरिएकै कारण आज यो अवस्थामा आएको हो ।
गैर आवासीय नेपाली संघ विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने नेपाल सरकारको प्रतिनिधिमूलक आधिकारिक संस्थाको रूपमा स्थापित भएको हो । यो संस्थालाई सन् २०१३ मा नेपाल सरकारले एउटा कानून नै बनाई गैर आवासीय नेपाली सम्बन्धी ऐन–२०६४ जारी नै गरी औपचारिक रूपमा सामाजिक संस्था भनी मान्यता पनि दिएको थियोे ।
हाम्रै छिमेकी मुलुक भारत र चीनको समृद्धिमा त्यहाँका गैर आवासीय नागरिकले महत्वपूर्ण योगदान गरेका थिए र छन् । भारत र चीनले डायस्पोरामा छरिएका आफ्ना नागरिकहरूबाट मुलुकको अर्थतन्त्रलाई बलियो बनाउँदै गएका थुप्रै उदाहरण छन् ।
गैर आवासीय नेपालीहरूले पनि भारत र चीनबाट देशको समृद्धिको सवालमा सिक्नु पर्ने थुप्रै काम छन् । एनआरएनए जस्तो सामाजिक संस्थालाई राजनीतिबाट सदाका लागि मुक्त बनाई गैर आवासीय नेपालीको हकहित र नेपालको समृद्धिमा लगाउनु पर्छ ।
यो संस्था नेपालका राजनीतिक दलहरूको भ्रातृ संस्था बन्नु हुँदैन । कुनैपनि देशमा नेपालीलाई गाह्रो र साँघुरो पर्दा वा सुख दुःखमा यो संस्थाले साथ दिनुपर्छ । संस्थाको नेतृत्व सम्हाल्ने पदाधिकारीहरू राजनीतिक दलका नेता बन्ने होइन प्रवासी नेपालीहरूको अभिभावक बन्नुपर्छ । अहिलेको विवादलाई जतिसक्दो चाँडो निर्मूल गरी सामाजिक अभियानमा लाग्नुपर्छ ।
एनआरएनएका केही व्यक्तिहरू पदका लागि मरिहत्ते गर्छन् भन्ने कुरालाई चिर्नुपर्छ र संस्थाको उद्देश्य अनुरूप प्रवासीका माझ भिज्न सक्नुपर्छ र काम गरेर देखाउनुपर्छ । नेपाल सरकारले गैर आवासीय नेपालीको मागअनुसार प्रदान गरेको नागरिकताको सम्मान गरी आफ्नो क्षमता, सीप र पूँजीलाई आफ्नो जन्मभूमिको लागि प्रयोग गरिनुपर्छ ।
एनआरएनएबाट विसं २०७८ वैशाखमा घोषणा गरिएको र प्रक्रियामा रहेको भनिएको नेपालको पूर्वाधार र उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रूपैयाँ पूँजी भएको नेपाल विकास कोषको कार्यान्वयन तुरून्त गरिनु पर्छ । आज संसारका विभिन्न देशमा हाइहाइ भइ नाम कमाएका नेपालीहरूले नेपाली माटोलाई कदापि भुल्नु हुँदैन । देश बाहिर रहँदा वा अर्काको देशमा विदेशी नागरिक भएर बस्नुपर्दाका भौतिक वा मनोवैज्ञानिक समस्यालाई आत्मसात गर्दै नेपालको युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न परदेशी नेपालीको महत्वपूर्ण भूमिका रहन सक्छ ।
एनआरएनएकै एघारौँ सम्मेलन चलिरहेको समयमा कसलाई गैर आवासीय नेपाली भन्ने सवालमा बुझेर वा नबुझेर एकापसमा निकै टीकाटिप्पणी, आलोचना, आरोप–प्रत्यारोप पनि गरिएका देखिए । भर्खरै नेपालको संविधानमा व्यवस्था गरेअनुसार नेपाल सरकारले गैर आवासीय नेपालीलाई सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित (राजनीतिक अधिकारबाहेक) को नागरिकता प्रदान गरी अत्यन्तै सराहनीय काम गरेको छ । यसबाट गैर आवासीय नेपालीहरू अत्यन्तै खुशी पनि देखिन्छन् ।
गैर आवासीय नेपाली नागरिकमा को–को पर्छन् भन्ने सवालमा पनि सोलोडोलो अवधारणा अपनाएको देखिन्छ । राज्यले परदेशिएका सबैलाई एउटै डालोमा राखेर व्यवहार गरिनु हुन्न । विदेशमा आठथरी नेपाली छन् भन्ने गरिन्छ । वास्तवमा जोसँग नेपाली नागरिकता र पासपोर्ट छ अनि कुनै विदेशी नागरिकता र पासपोर्ट लिएका छैनन् भने ती परदेशमा बसेका नेपाली नै हुन् ।
तिनीहरू केही समय वा वर्ष उतै स्थायी वा अस्थायी रूपमा बस्न पनि सक्छन् र फर्केर आउन सक्छन् । तिनीहरूको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुन्छ । नेपालका केही राजनीतिक दलका नेतृत्वहरूले यस्ता नेपालीहरूलाई अपमान गरी बोलेको पो सुनिन्छ । जसले नेपाली नागरिकता र पासपोर्ट त्यागेर सम्बन्धित देशको नागरिकता र पासपोर्ट प्रयोग गरेका छन्, तिनीहरू भनेका नेपाली मूलका तर सम्बन्धित देशका नागरिक हुन् । ती व्यक्तिहरूको सम्पूर्ण किसिमको जिम्मेवारी सम्बन्धित देशले लिएको हुन्छ । तिनीहरू र नेपालका बीचमा भावनात्मक सम्बन्ध भए पनि राजनीतिक सम्बन्ध हुँदैन ।
खासमा नेपाली मूलका विदेशी नागरिकताधारीको लागिमात्र अहिलेको गैर आवासीय नेपाली नागरिकताको आवश्यकता परेको हो । नेपालको जनसंख्याको करिब एकतिहाई नेपाली विदेश भए पनि विदेशी नागरिकताधारी नेपाली अत्यन्तै कम छन् । त्यसकारण परदेशिएका सबैलाई एउटै डालोमा राखेर एउटै व्यवहार गरिनु हुन्न । कतिपय अवस्थामा राज्य, जिम्मेवार निकाय र जिम्मेवार व्यक्ति नै परदेशी नेपालीको समस्याबाट उम्कने खोजेको पनि देखिन्छ । आज देश धानिने मुख्य स्रोत भनेको रेमिट्यान्स नै हो । रेमिट्यान्स पठाउने नेपालीहरूलाई आत्मसम्मानमा नै आँच आउने तरिकाले हेप्नु हुँदैन ।
‘जननीजन्मभूमिश्च स्वर्गादपि गरीयसि’ भनेजस्तै जन्मभूमि भनेको अत्यन्तै प्रिय ठाउँ हो । माटो र मनका बीचमा गहिरो भावनात्मक सम्बन्ध हुन्छ । सात समुद्र पारी बस्दा पनि गाउँकै सपना देखिन्छ । आफ्नो जन्मभूमिको माटो, भाषा, संस्कार, संस्कृति, रहनसहन, वेशभूषा र चालचलन जहाँ जाँदा र जहिले पनि सँगसँगै हुन्छन् ।
केही कारणवश वा बाध्यताले थोरै वा धेरै समयको लागि विदेश छिरेको वा बसेको भन्दैमा सम्बन्धगत सीमामा ठूलै बाँध नै लगाउनु पर्छ भन्ने छैन । अहिलेको २१ औँ शताब्दी त झन् विश्व एउटा गाउँमा सीमित भएको छ । विश्व मानचित्रमा देशका सीमानाका रेखाहरू देखिए तापनि नागरिकमा देशका सीमाना विभेदहरू हराउँदै गएका छन् । कुनै खास कानूनी प्रक्रियामा बाहेक सामान्यतया कसैलाई तँ यो देशको नागरिक होस् र म यो देशको नागरिक हुँ भनेर छुट्याउनु पर्ने वा चिनाउन पर्ने आवश्यकता नै छैन । विश्वका कतिपय देशहरूले त आफ्ना नागरिकलाई द्वैध र बहु नागरिकताको अनुमति पनि दिएका छन् ।
संसारको जुन ठाउँमा गएर बसे पनि र जहाँको नागरिक बने तापनि आफ्नो जन्मभूमि र जन्मदेश जस्तो प्यारो ठाउँ कहीँ पनि हुँदैन । आज संसारमा छरिएका केही नेपालीहरूको छवि निकै उच्च रहेको छ । ती नेपालीहरूले विभिन्न क्षेत्रमा नाम कमाएका छन् । अब तिनीहरूले आफूमा भएको बौद्धिक क्षमतालाई नेपालको लागि खर्चिनु पर्ने बेला आएको छ । देश आर्थिक रूपमा निकै पछि परिरहेको छ । यस्तो बेलामा देशभित्र वा देश बाहिरका र नेपाली वा नेपाली मूलका सबैले अत्यन्तै गम्भीर भएर सोच्नुपर्छ । अब एकपटक होस्टेमा हैँसे गर्ने बेला आएको छ । अब देशलाई जुरुक्क उचाल्नको लागि तँ यो देशको म त्यो देशको र तँ त्यो पार्टीको र म यो पार्टीको भन्ने भावनालाई अन्त्य गरी हामी सबै नेपाली, हामी सबैको नेपाल भन्नुपर्छ । (भर्जिनिया, अमेरिका)