arrow

कमल थापालाई पार्टी बेचेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
kamal-thapa-rpp4343.JPG

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरूले पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीप विक्रम राणाले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको जानकारी गराएका छन् । 

आज रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुकाएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप लगाए । साथै, उनले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको स्पष्ट पारे ।  

राप्रपा नेपाल कमल थापाले बनाएको पार्टी नभएको भन्दै थापाले ‘आफ्नै घरमा फर्किएँ’ भन्न नमिल्ने उनको तर्क थियो । यस्तै, राजसंस्था र हिन्दु राष्ट्र सखाप पार्नको लागि थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि राणाको आरोप छ । 

‘यस कदममा ९५ प्रतिशत केन्द्रीय पदाधिकारीको असहमति रहेको छ । निर्वाचन आयोगले कसरी यस्तो निर्णय गर्‍यो ? यसको जवाफ निर्वाचन आयोग र लाक्पा तामाङले पनि दिनुपर्छ । न्यायालयले पनि हामीलाई न्याय दिनुपर्छ,’-उनले भने ।

यस्तै, कमल थापा पटक-पटक बिक्री भएको मान्छे भएको आरोप लगाउँदै उनले भने, ‘कहिले म गणतन्त्रवादी भइसकेँ भन्ने ? कहिले ज्ञानेन्द्रलाई मान्दैन भन्ने ? अनि अहिले अर्काको घरलाई मेरो घर भन्ने ?, उहाँले एकपछि अर्को गरेर असंवैधानिक र गलत कदम चाल्नुभएको छ ।’ 

साथै, उनले अहिले देशको अवस्था विकराल भएको भन्दै अहिले देश बुबाविहीन भएको पनि बताए । फागुन ७ गते राष्ट्रिय सभामा घोषणा सभा गर्ने भनेका थापालाई मुसा प्रवृत्ति छोड्न आग्रह गर्दै राणाले  बरु हिम्मत भए नयाँ पार्टी बनाउन सुझाव दिए । 

कार्यक्रम सञ्चालक तथा पार्टीका उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरूको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे । 

साथै, उनले लाक्पा तामाङको कदम आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिए । उनले भने,‘६०-४० को समीकरण बनाएर कमल थापासहितको ठुलो टिम हाम्रो पार्टीमा प्रवेश हुँदै छ तर, हाम्रो पार्टीको सिद्धान्त कतै जाने छैन भनेर हामीलाई झुटो कुरा बोलियो ।’ 

युवाहरूले अगाडि बढाई रहेको पार्टीलाई अबका दिनमा पनि युवाहरूले नै अगाडी बढाउनुपर्ने उनले माग गरे । कमल थापा अध्यक्ष भएको कुरा अवैधानिक रहेको भन्दै अध्यक्ष तामाङले पार्टीका पदाधिकारीहरूलाई अवमूल्यन गरेको पनि उनको आरोप थियो ।  यस्तै, उनले पार्टी र नेतृत्वप्रतिको आफूहरूको भरोसालाई कतिमा बेच्नुभयो ? भन्दै तामाङमाथि प्रश्न उठाएका थिए । 

पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भए पनि चरित्र कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्वीकार गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । ‘हामीले गर्वका साथ राजसंस्था र हिन्दु राष्ट्र भनेर हिँडिरहेका थियौँ र आज पनि यही एजेन्डामा अडिग छौं । तर, एकाएक हामीलाई गणतन्त्रवादी बनाइयो’-उनले भने,‘यो कुरा हामीलाई कदापि मान्य छैन ।’ 

सिंगो पार्टी र पदाधिकारीलाई कुनै जानकारी नदिएर गोप्य रूपमा पार्टीको साँचो अरू कसैलाई बुझाइएको भन्दै उनले दुःख व्यक्त गरे । साथै, अहिलेको अवस्थामा नेताहरूलाई कसैले सम्मान नगर्ने अवस्था आएको भन्दै उनले राजाप्रतिको जनताको सम्मानलाई स्मरण गराए ।  

केन्द्रीय उपाध्यक्ष राम गोपालीले परिवर्तनका संवाहक युवाहरूले चलाइरहेको पार्टीलाई रातारात गणतन्त्रवादी बनाइएको भन्दै आफूहरू कमल थापाको बुट समातेर लाक्पा तामाङसँग सती जान नसक्ने बताए । युवाहरूको सपनामाथि कुठाराघात गर्नु थियो भने किन हाम्रो सपना मार्नुभयो ? भन्दै प्रश्न उनले पनि तामाङमाथि प्रश्न गरे । 

यस्तै, उनले ६०-४० को झूँटो आश्वासन दिएर उपस्थित नभएकाहरूको हस्ताक्षर किर्ते गरेर निर्वाचन आयोगमा गएर कमल थापालाई पार्टी सुम्पिएको आरोप लगाए । ‘कसैले विचार बेचेर झोला भर्‍यो होला । तर, राप्रपा नेपाल कहीँ पनि समाहित भएको छैन’-उनले भने । 

राप्रपा नेपाल धरानका नेतृत्वकर्ता दोर्जे शेर्पाले लाक्पा तामाङले आफूलाई मिठो सपना देखाएर धोका दिएको भन्दै आफुले राजसंस्था र हिन्दु राष्ट्रलाई कहिल्यै पनि नत्याग्ने बताए । 

त्यस्तै, महामन्त्री राजु नापितले सनातन हिन्दु धर्म र राजसंस्थाको एजेन्डा बोकेको राप्रपा नेपाललाई कति पैसामा बच्नुभयो ? भन्दै तामाङमाथि प्रश्न गरेका थिए । 
नागरिक समाजको तर्फबाट हेमविक्रम शिलवालले लाक्पा तामाङले छापामार शैलीमा राप्रपा नेपालका पदाधिकारीलाई थाहा नदिएर गरेको अन्यायप्रति दुःख व्यक्त गर्दै न्यायालयले न्याय दिन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए । साथै, उनले गाई रातारात कसरी गोरु भयो ? भन्दै प्रश्न उठाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ