arrow

महाशिवरात्रीको मुखमा पशुपतिका कोषाध्यक्षविरुद्ध अख्तियारले अघि बढायो कारबाही

logo
गोविन्द अधिकारी, 
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
cia-subedi.jpg

काठमाडौं । पशुपति क्षेत्र विकास कोष महाशिवरात्रीको तयारीमा जुटेको समय पशुपतिका कोषाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ । अख्तियारले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई स्पष्टीकरण पत्र पठाउँदै कारबाही प्रक्रिया थालेको हो । 

काठमाडौं वडा नं ८ का स्थानीयवासीले कोषाध्यक्ष सुवेदीविरुद्ध अख्तियारमा उजुरी दिएपछि अख्तियारले कारबाही प्रक्रिया अघि बढाउँदै पत्र पठाएको हो ।  सुवेदीले पदीय दुरुपयोग गरी पशुपतिलाई हानि गर्ने गरी कार्य गरेको र पशुपति कोषमा राजनीतिक स्वार्थ राख्ने गरेको भन्दै स्थानीयवासीले उनीविरुद्ध अख्तियारमा उजुरी दिएका थिए । 

कोषाध्यक्ष सुवेदीमाथि कोषलाई ८५ लाख भन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको तिलगंगास्थित प्राणनाथ क्याफेभित्र रहेका सामग्रीहरू गुपचुप बाहिर पठाएको आरोप छ । माघ १५ गते शनिबार कोषाध्यक्ष सुवेदीले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको क्याफेभित्र रहेका सामग्रीहरू गुपचुप दिएपछि सामान लगेको देख्ने प्रत्यक्षदर्शी तथा स्थानीयले अख्तियारलाई गुहारेका थिए ।

स्थानीयले अख्तियारसँग कोषाध्यक्षको व्यवहारले पशुपतिनाथको गरिमालाई आँच पुगेको गुनासो गरेका छन् । कोषका अनुसार लम्सालले गत कार्तिकसम्मकै ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडा बापतको रकम तिर्न बाँकी रहेको छ । 

कोषाध्यक्ष सुवेदीले पदीय दुरुपयोग गरी कोषका सुरक्षाकर्मी र आफ्नो पार्टी निकट कर्मचारीको सहयोगमा क्याफेमा रहेको करिब ३५ देखि ४० लाख रुपैयाँ सम्मका भान्सा लगायतका सामग्रीहरू लम्साललाई विना मुचुल्का दिएका छन् ।  

सुवेदीविरुद्ध माघ २० गते बिहीबार सी–०२६०६६ नम्बरमा उजुरी दर्ता भएको थियो । अख्तियारले कारबाही प्रक्रिया अघि बढाएसँगै यीनलाई पत्र पठाएको हो ।  अख्तियारले स्थानीयको उजुरीमाथि स्पष्टीकरणको पत्र पठाउँदै प्रतिउत्तर पठाउन भनेको छ । 

बिहीबार दिउँसो २ बजे पत्र बुझेर कोषाध्यक्ष कोषबाट बाहिरिएका थिए । शुक्रबार पनि उनी कोषमा पुगेर आफूलाई बिसन्चो भएको भन्दै बाहिरिएका छन् । स्रोतका अनुसार अख्तियारको कुरालाई लिएर कोषाध्यक्षको ‘मुड अफ’ भएको छ । 

शिवरात्रीको तयारीमा लागेको पशुपतिमा अहिले कोषाध्यक्षको पत्रले चर्चा पाएको छ । कोषाध्यक्ष आफैंले पत्र लिएर गएका छन् । कोषाध्यक्षको डरले कोही बोल्न चाहेका छैनन् । जागिर जाने डरले कर्मचारी थुरुरु भएका छन् । 

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले अख्तियारले पत्र पठाएको विषय आफूलाई जानकारी नभएको बताए । ‘मैले जानकारी पाएको छैन बुझ्नै पर्नेहुन्छ ।’ उनले केही समयपछि सम्पर्क गर्ने बताए पनि उनी सम्पर्कमा आउन चाहेनन् । 

यसअघि सुवेदी राष्ट्रिय वाणिज्य बैङ्कको कर्मचारी र त्यहीँको कर्मचारी सङ्घका अध्यक्षसमेत थिए । नेपाल निजामती वाणिज्य बैङ्क सङ्गठनमा १० वर्ष अध्यक्ष भए । बैङ्कबाट अवकाश पाएपछि जनता टेलिभिजनमा आबद्ध भए । बैङ्कमा कार्यरत छँदा पेशागत महासङ्घअन्तर्गत बैङ्क तथा वित्तीय संस्था कर्मचारी सङ्गठनको अध्यक्षसमेत बनेका थिए । 

यता कोषाध्यक्ष बनेपछि सुवेदीले पशुपति कोषमा पनि ट्रेड युनियन छिराइसकेका छन् । कोषाध्यक्षले नै पशुपतिमा ट्रेड युनियन खोल्न सक्रियता देखाएपछि  सो विषयलाई लिएर पनि स्थानीयले उजुरी दिएका थिए । 

उनी नेकपा फुटेपछि एमालेमा पनि रहन नसकेपछि माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा गए । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपतिनाथको कोषाध्यक्ष बनाएर ल्याएका हुन् । उनले कोषमा आफ्नो समाजवादी पार्टीको ट्रेड युनियन गठन गराइ पण्डित र भण्डारीहरूलाई समेत स्वार्थ र लोभ देखाउँदै सदस्यता लिन प्रेरित गरिरहेको आरोप छ ।

कोषाध्यक्ष सुवेदीले कर्मचारी तथा कोषको आन्तरिक सुरक्षाकर्मीलाई मौखिक आदेश दिएको बुझिएको छ । उनले आफू निकट कर्मचारी कार्यकारी निर्देशक डा. घनश्याम खतिवडामार्फत उक्त सामान निकाल्न दबाब दिएको दाबीसमेत गरिएको छ ।  

कोषाध्यक्ष सुवेदीले भने सामग्री दिएको विषयलाई नकार्दै आएका छन् । अख्तियारका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले सो विषयमा अनुसन्धान भइरहेको बताए । उनले अनुसन्धान नितान्त गोप्य विषय भएकाले भन्न नमिल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ