arrow

रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
Rabindra Adhikari.jpg

पोखरा । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । अधिकारीको नाममा स्थापना गरिने पुरस्कारको सञ्चालन रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले गर्ने भएको हो ।

अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा शनिबार पोखरामा आयोजित रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।

प्रतिष्ठानका अध्यक्षसमेत रहेकी एमाले केन्द्रीय सदस्य, संघीय सांसद विद्या भट्टराई अधिकारीले रवीन्द्र अधिकारीले विभिन्न क्षेत्रमा पुर्याएको योगदानलाई आम जनतासम्म पुर्याउन महत्वपूर्ण योगदान दिने, विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान स्वरुप पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन ।

यसै वर्षबाट २५ लाख रुपैयाँको अक्षकोष स्थापना गरि अधिकारीको जन्मदिनको अवसर पारेर आगामी बैशाख २२ गते उक्त पुरस्कार प्रदान गरिने जानकारी दिइन् । 

प्रतिष्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि त्रिदिवसीय रुपमा मनाउन लागिएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्रीबिनोद प्रतीक, अग्रज पत्रकार पुण्य पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतले रवीन्द्र अधिकारीले सञ्चार लगायत विविध क्षेत्रमा पुर्याएकोे योगदानका बारेमा प्रकाश पारेका थिए ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको ताप्लेजुङको सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा २०७५ फागनु १५ गते अधिकारीसहित ७ जनाको निधन भएको थियो ।



नयाँ