arrow

गगनकै लाइनमा प्रचण्ड र माधव, ‘व्याख्यात्मक टिप्पणी’ बाट एमसीसी पारित हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
gagan-thapa-mahamantri-final.jpg
तस्बिर– फाइल

काठमाडौं । निकै ठूलो रस्साकस्सीबीच अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित हुने भएको छ । एक हप्ता निकै तनावमा गुज्रेको भए पनि अब भने राजनीतिक उथलपुथल फेरि सही दिशाबाटै जाने अपेक्षा गरिएको छ । 

तनावबीच सहज तरिकाले एमसीसी संसदबाट पारित गर्ने वातावरण भने नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले बनाएका हुन् । गत हप्ता संसदमा एमसीसी प्रस्ताव पेश भए पनि अगाडि बढ्ने वातावरण नदेखेपछि संसदबाट निस्कदै गर्दा संचारकर्मीहरु सामु सांसद थापाले ‘व्याख्यात्मक टिप्पणी’ सहित सहमतिमा जाऔं र एमसीसी पास गरौं भनेका थिए । 

त्यसअघि फागुन ५ गते नै गठबन्धनको बैठकमा समेत उनले यो प्रस्ताव ल्याएका थिए । नेताहरुले आफूहरु अगाडि बढिसकेको संकेत गरेका थिए । त्यतिबेला उनको भनाइको चर्को आलोचना भयो । विशेषगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आलोचना गरे । जबकि दुई दल शेरबहादुर देउवा नेतृत्वको सरकारका सत्तासाझेदार दलहरु हुन् । 

गगनले यसअघि नै भन्दै आएका थिए कि ‘एमसीसीमा भएका बुँदाहरु नेतारुलाई नै थाहा छैन । नपढेरै बाह्य सतहबाट विश्लेषण गरिरहेका छन् ।’ उनी एमसीसीबारे नेपाली कांग्रेसले हाते पुस्तिका बनाएर गाउँगाउँ पठाउने पनि बताउँदै आएका छन् । 

यो जरुरी यसअर्थमा पनि छ कि एमसीसीको विरोध गर्नेहरु नै देशभक्त जस्ता लाग्ने र एमसीसीको समर्थन गर्नेहरु देशद्रोहीजस्ता । नभन्दै त्यो माहोल कम्युनिष्ट विचारधारा भएका दलहरुले निकै नै प्रचारप्रसार गरे । यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने खासै बोलेन । किनकि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै प्रधानमन्त्री भएका बेलामा एमसीसी २०७६ सालमा संसदमा पेश गरेका थिए । तर उनकै पार्टीबाट उनलाई असहयोग भयो । 

यसपालि यति ठूलो मुद्दा उठिरहँदा पनि एमाले चुप लागेर बस्यो । प्रतिपक्षमा भएकाले गर्दा सरकारका एजेन्डा किन उठाउने भनेर उसले देशको गम्भीर विषयलाई पनि बेवास्ता गर्यो । 

कांग्रेस चुप लागेर बस्ने अवस्था थिएन । त्यसमा पनि गगन थापा । उनी कुनै विचार बोकेपछि त्यसलाई गन्तव्यमा नपुर्याइ छाड्दैनन् । किनकि उनी कुनै विचार बोक्नुअघि निकै नै समय लगाएर अध्ययन गर्छन् । विज्ञहरुसँग परामर्श लिन्छन् । 

तिनै अध्ययनशील नेताले नै नयाँ सूत्र पहिल्याए ‘व्याख्यात्मक टिप्पणी’ । त्यही टिप्पणीमार्फत एमसीसी पारित गर्ने । पहिले आलोचना गर्ने कम्युनिष्ट दुई दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्यही व्याख्यात्मक टिप्पणीको फेरो समातेर एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न सहमत भएका छन् । 

हुनत नेपाली कांग्रेस शुरुआतदेखि नै एमसीसी पारित गर्नुपर्ने अडानमा रहेको थियो । ओलीले संसदमा पेश गर्दा पनि प्रमुख प्रतिपक्षमा भए पनि कांग्रेस पारित गर्नुपर्छ भन्नेमा थियो । तर अहिले आएर एमसीसी पारित गर्ने विषयलाई एमालेले पार्टीको आन्तरिक मागको विषय बनायो भने प्रचण्ड र माधव नेपालले राजनीतिक स्वार्थ । प्रचण्ड माधवले ओलीले पेश गर्दा पनि असहयोग गरेका थिए । 

यसपटक भने सत्ता गठबन्धनबाट टाढिनु पर्ने चिन्ता त छँदै थियो । तर गगन थापाले ल्याएको सूत्रले सबैभन्दा बढी राहत प्रचण्ड र माधव नेपाललाई नै दिएको हुनुपर्छ । 

गगनको सूत्र कांग्रेस सभापति देउवालाई पनि मन पर्यो । जसले गर्दा गगनलाई अगाडि बढ्न सजिलो भयो । गगनकै अग्रसरतामा कांग्रेसले एमालेसँगको छलफललाई अगाडि बढायो । 

एमसीसी पास गर्ने विकल्प तयार भयो । यदि माओवादी र एसले नमाने एमालेसँग सहमति गर्ने वातावरण बन्यो । गगनको विचारले काम गर्यो । प्रचण्ड र माधव सत्ता गठबन्धन तोड्ने स्थितिमा पुगेनन् । 

गगनकै यो विचारले गठबन्धन जोगायो । गगनले एमसीसी सम्झौताका कारण नेपालमाथि अमेरिकी स्वार्थ हाबी नहुने, आर्थिक सहायताका रूपमा मात्रै स्वीकार गर्ने र अमेरिकी हस्तक्षेपको गुञ्जायस रहेमा सम्झौता नै खारेज गरिनेसम्मको प्रावधानसहित ‘व्याख्यात्मक टिप्पणी’ पारित गर्न सकिने बताएर सहमतिमा ल्याएका हुन् । 

यसबाट सत्तागठबन्धन जोगिएको छ । यसको सबै जश कांग्रेस सभापति देउवालाई नै जान्छ । जसले थापालाई अगाडि बढाए । थापा यस्ता वार्ताहरुबाट निर्णय गराउन सक्ने क्षमता भएका नेता भएको परख पाएका देउवाले थापालाई जिम्मा दिए । त्यो जिम्मेवारी पूरा गर्न उनी सफल भए । उनकै अग्रसरतामा ‘व्याख्यात्मक ड्राफ्ट’ को काम अगाडि बढेको हो ।

अन्तर्राष्ट्रिय कानूनका ज्ञाता गोविन्द बन्दीले ड्राफ्ट बनाएका छन् । यो ड्राफ्टका लागि गगनलाई संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायतका दोस्रो तहका नेताले सघाएका छन् । 

गठबन्धनको चिसो भने रहने 
एमसीसीलाई संसदमा लगिसकेपछि अगाडि बढ्न नदिने खेल प्रचण्ड र माधव नेपालले खेले । त्यो भने दुर्भाग्य भयो । गगनले राखेको प्रस्तावमा तत्काल छलफल गरी सत्ता गठबन्धनले यो बाटो अपनाउन सकेको भए सडकमा तोडफोड हुने थिएन । 

सबैभन्दा ठूलो कुरा त सत्ता गठबन्धनमा अविश्वासको वातावरण आउने थिएन । गत बिहीबारसम्मको दिनमा आइपुग्दा अवस्था यस्तो बनेको थियो कि सत्ता गठबन्धनको अन्तिम रात नै त्यही हो । 

तर शुक्रबार प्रचण्ड र माधव नेपाल फेरि गगनको विचारमा फर्कन वाध्य भए । फागुन ८ गते संसदमा पेश भएको एमसीसी अर्थमन्त्री शर्माले नै पेश गरेको भए कति जाती हुन्थ्यो । 

त्यसपछिका दिन पनि उनी संसद छलेर बाहिर गए । माहोल बिग्रिएको थियो । त्यस्तै माओवादी केन्द्र र नेकपा एसका विभिन्न संस्थाहरु सडकमा जानु पर्ने थिएन । एक किसिमको असहज परिस्थिति आयो । 

त्यस्तै अन्तर्राष्ट्रिय छविसमेत बिग्रिने थिएन । ढिलै भए पनि वातावरण सहज बन्दै गएको छ । यद्यपि बालुवाटारमा सहमति बन्दै गर्दा माओवादी र नेकपा एसका जनवर्गीय संगठनका नेता कार्यकर्ता भने सडकमा कुर्लिएका छन् । 

गठबन्धनको अविश्वासको वातारण भने अझै नहटेको कांग्रेस नेताहरुको बुझाइ छ । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले व्याख्यात्मक टिप्पणीमा शुरुमै सहमति गरेर अगाडि बढेको भए यो एक हप्ताको घटना देशले भोग्नै नपर्ने बताउँछन् । उनले भलै माओवादी र नेकपा एस सहमतिमा आए पनि गठबन्धनमा विश्वासको वातावरण भने अझै नभएको बताए । 

सडकमा प्रधानमन्त्री देउवा, मन्त्रीहरु तथा कांग्रेसका नेताहरु विरुद्ध लगाइएका नाराहरुले भने विश्वासको वातावरण पूर्ण रुपमा कायम नभएको उनको बुझाइ छ । 

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले भने पार्टी अध्यक्षको मात्रै नभएको भन्दै एमसीसीको निर्णयको विरोध गरेका छन् । उनले केन्द्रीय समितिको बैठक टारेर विधानले नचिनेका निकायमार्फत गरिएको निर्णय मान्न नसकिने उनको तीखो टिप्पणीबाट माओवादीले सर्वसम्मत निर्णय नगरेको स्पष्टै छ । 

यसले सत्तारुढ गठबन्धन कायमै रहेर पनि माओवादीभित्र विग्रह ल्याउन सक्ने देखिन्छ । यसबाट निस्केको तुसको चिसो भने पछिसम्म रहने बुझ्न सकिन्छ । यद्यपि सत्ता गठबन्धन दलहरु आगामी चुनावमा पनि सँगसँगै जाने भनिरहेका छन् । 

तर कांग्रेस महामन्त्री गगन थापाले परिस्थितिले सत्तागठबन्धन बनेको भए पनि चुनावमा भने एक्लाएक्लै भिड्नु पर्नेमा जोड दिँदै आएका छन् । 

उनै गगनको विचारसँग सहमत अन्य दलका युवाहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ