arrow

एमालेको आरोपप्रति सभामुख सापकोटाको गम्भीर ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
agni-prasad-sapkota-2078-11-15.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेको भनाइप्रति सभामुख अग्निप्रसाद सापकोटाले गम्भीर आपत्ति जनाएका छन् । सभामुखको संंघीय संसद सचिवालयले प्रेस नोट जारी गर्दै जनाइएको आपत्तिमा लेखिएको छ, ‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन  खोजिएको विषय स्पष्ट गर्न यो प्रेस नोट जारी गरिएको छ । देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको विज्ञप्तिमा ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ । नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ’ भनिएको छ । 

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

 

के भनेका थिए ओलीले
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछि सोही विषयमा आफ्नो धारणा राख्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गरेका थिए । सो क्रममा उनले सभामुखमाथि सही भूमिका नखेलेको आरोप लगाए । 

एमालेले ओली नेतृत्वको सरकार हटेदेखि नै संसद अवरुद्ध गर्दै आइरहेको छ । उसले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले पनि कारबाही गर्नुपर्ने माग राखेको छ । सभामुखले यो विषय सर्वोच्च अदालतमा गइसकेको भन्दै त्यसमा आफूले केही गर्न नमिल्ने बताउँदै आएका छन् । 

एमालेले भने कि आफूले हटाएका १४ सांसद (जो नयाँ पार्टी नेकपा एकीकृत समाजवादी) बनाएका छन्) लाई कारबाही हुनुपर्यो हैन भने सभामुखले राजीनामा दिनु पर्यो भन्दै आएको छ । 

सभामुखले नटेरेको अर्थमा एमालेले लिँदै आएको छ । सो क्रममा ओलीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार सभामुखलाई लान्छना लगाएका छन् । 

उनले १२ बुँदे विज्ञप्ति जारी गर्ने क्रममा तेस्रो नम्बर बुँदामा सभामुखविरुद्ध बोलेका हुन् । 

त्यसमा लेखिएको छ, ‘संसदमा माननीय सदस्यहरुको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको विजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकुल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो । षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ । उहाँ नै दलहरुले कारबाही गरेका अनुशासनहीन सांसदलाई जोगाएर दल विभाजनको मतियार बन्नुभयो । अहिले राष्ट्रिय राजनीति लिकबाट बाहिरिएको छ । संसदभित्र वा बाहिरको हाम्रो जारी लडाइँ लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र दलीय प्रणालीको मर्मलाई स्थापित गर्न र त्यसलाई अझ सुदृढ गर्नका लागि हो । संसद् जननिर्वाचित प्रतिनिधिमार्फत् लोकतन्त्रको अभ्यास गरिने थलो हो । चार वर्षअघिको जनादेश अहिले खण्डित भएको छ । त्यसैले संसद् प्रभावकारी हुन सकिरहेको छैन । त्यसमाथि सभामुखको भूमिकाले थप गतिरोध सिर्जना भएको छ । यी सबै घटनाक्रमले सभामुख यस गरिमामय पदका लागि योग्य हुनुहुन्न भन्ने थप पुष्टि भएको छ ।’ 



नयाँ