एनआरएनएमा भाँडभैलोः घलेले बुझाएको प्रतिवेदनमा चित्त नबुझेपछि महतोले दिए राजीनामा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
854
Shares
काठमाडौं । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो प्रतिवेदन समिति समक्ष बुझाएका छन् । नेपालको समयअनुसार बुधबार बिहान बसेको बैठकमा अध्यक्ष घलेले आफ्नो प्रतिवेदन बुझाएको समितिका एकजना सदस्यले बताए ।
उनका अनुसार प्रतिवेदनमा संयोजक घलेले संघका उपाध्यक्ष सोनाम लामाले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा २,६४३ प्रतिनिधिहरुलाई मात्रै मान्यता दिनु पर्ने जनाएका छन् । उनले ६५ प्रतिशत तथा २५ प्रतिशत प्रतिनिधि छनोट पनि विधान बमोजिम गर्न सुझाव दिएका छन् ।
‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४।२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्नेबारे केन्द्रीय सचिवालयको सहयोगमा उपाध्यक्ष लामाले छानबिन गरेका थिए ।
यसअघि अध्यक्ष कुमार पन्तले ३,६०० बढी प्रतिनिधिको नामावली निर्वाचन समितिलाई बुझाएका थिए। निर्वाचन समितिले आगामी मार्च २१–२२ मा संघको नयाँ केन्द्रीय कार्य समिति चुन्न निर्वाचन गराउने घोषणा गरेको छ । तर कुल आचार्यले नेतृत्व गरेको पक्षले प्रतिनिधि विवाद समाधान नभएसम्म चुनावमा भाग नलिने अडान राख्दै आएको छ।
महतोको राजीनामा
यसैबीच संस्थापक अध्यक्ष उपेन्द्र महतोले उच्चस्तरीय समितिबाट राजीनामा दिएका छन् । संयोजक घलेले बुझाएको प्रतिवेदन उपर असहमति जनाउँदै महतोले राजीनामा दिएको बताइएको छ। उच्चस्तरीय समितिको अर्को बैठक बुधबार बेलुका बस्ने बताइएको छ।