- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरुलाई आलुको बिउ उपलब्ध गराउन शुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाइ जीवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरुलाई आलुको बिउ उपलब्ध गराउन शुरु गरेको हो ।
गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउ वितरण गर्न शरु गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउ वितरण गरेका छन् । प्रति किसानलाई २५ किलोको दरले आलुको बिउ वितरण गरिएको उनले बताए ।
त्यसैगरी वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानहरुलाई पनि आलुको बिउ वितरण गर्ने तयारी रहेको उनले बताए । सोमबार सम्ममा सबै किसानलाई आलुको बिउ वितरण गर्ने तयारी रहेको उनको भनाइ छ ।
चालु आर्थिक वर्ष २०७८–०७९ मा गाउँपालिकाको कार्यक्रम मार्फत वितरण गरिएको आलुको बिउँबाट वडा नम्बर १ का ४ सय २० घरधुरीका किसानहरु लाभान्वित हुनेसमेत उनले बताए ।
लेकमा फल्ने उन्नत जातका आलु वितरणले भूकम्प पीडित विस्थापित परिवारको जीवन निर्वाहमा टेवा पुग्नेसमेत लम्सालले बताए । ‘कृषकहरुलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहन गराउनका लागि गाउँपालिकाको कार्यक्रममार्फत अनुदानमा आलुको बिउ वितरण गरेका हौं, उनले भने ।
वितरण गरिएको आलु उत्पादनबाट बढी लाभसँगै कृषकको आम्दानी स्तर बढाउन यस्तो नीति अपनाएको उत्तरगया गाउँपालिकाले जनाएको छ ।
त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई आलु जोन क्षेत्रको रुपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिकासहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रहरुमा व्यवसायिक रुपमा आलु खेतीका लागि कृषकहरुलाई आलुको बिउ लगायतमा अनुदान दिएको छ ।