arrow

कामचलाउ आइसीसीले संरक्षक परिषद् विघटन गर्न सक्दैन : देवमान हिराचन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
devman-hirachn.JPG

काठमाडौं । गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले कामचलाउ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले संरक्षक परिषद् विघटन गर्न नसक्ने बताएका छन्। संरक्षक हिराचनले आइसीसी बैठकले संरक्षक परिषद् तथा उच्च स्तरीय समिति भङ्ग गरि दिएको भन्ने निर्णय दुर्भाग्य पूर्ण भएको बताए। 

‘सङ्घको विधान अनुसार संरक्षक परिषद्लाई एक अभिभावकको रूपमा संस्थाको संरक्षण गर्ने जिम्मा दिइएको छ। नयाँ कार्य समितिले प्रमुख संरक्षक र संरक्षकहरू मनोनयन गर्न सक्छ तर संरक्षक परिषद् नै विघटन गर्न सक्दैन,’ हिराचनले भने ।

यसै गरी उनले झन्डै डेढ महिना लगाएर उच्चस्तरीय समितिले विवाद समाधान गर्न काम गरेको तर विधान विपरीत बोलाइएको, कोरम नपुगेको बैठकले उच्चस्तरीय समिति समेत भङ्ग गरिदिएको भन्ने सुन्दा दुख लागेको बताए। उनले संस्थालाई एकजुट गरेर लग्न यस्ता गलत निर्णयहरू सच्याउन सुझाव पनि दिए।

यसैबिच गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का ५० जनाभन्दा बढी पदाधिकारी तथा सदस्यहरूले विधान विपरीत बैठक बोलाएर गरिएका निर्णयहरू मान्य नहुने जनाएका छन्। 

सङ्घको विधान र नियमावली अनुसार सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) मा एजेन्डाबारे छलफल भए पछि र पदाधिकारीहरू (ओबी) को बैठकले पास गरे पछि मात्रै १ हप्ता अगाडी एजेन्डा आइसीसीलाई पठाउनु पर्ने हुन्छ। तर उक्त कुनै पनि प्रक्रिया पुरा नगरी एकपक्षीय एजेन्डाहरू राखेर बैठक बोलाइएको उनीहरूले जनाए । 

गत २ मार्च २०२२ मा बसेको बैठकले सङ्घको विधान २००३ (२०२१ संशोधन सहित) विपरीत संरक्षक परिषद् तथा उच्चस्तरीय समितिलाई खारेज गर्ने, ७० प्रतिशत भन्दा बढी पञ्जीकृत सदस्यहरू रहेका अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद्हरूको मान्यता समाप्त हुने लगायतका निर्णयहरू गरेको बताइएको छ। 

"त्यस्ता निर्णयको कुनै कानुनी औचित्य छैन, त्यसैले ती बदरभागी छन्," आइसीसी सदस्य चिन्तामणि सापकोटाले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ