arrow

ज्येष्ठ नागरिकका लागि आमाछोदिङ्मो गाउँपालिकाको घरदैलो सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
274756556_240520544868032_4238512252653059984_n.jpg

रसुवा । जेष्ठ नागरिकको सम्मानमा रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा वितरण शुरु गरेको छ । शुक्रबारदेखि गाउँपालिकाले ज्येष्ठ नागरिकको घर घरमा पुगी सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा वितरण गर्न शुरु गरेको हो ।

अध्यक्षसँग ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत घरघरमा पुगी ७० वर्ष माथिका ज्येष्ठ नागरिकको सम्मानमा न्यानो कपडा स्वरुप फाइबर सिरक, हट ब्याग वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । 

‘ज्येष्ठ नागरिकको सम्मानमा गाउँपालिकाको वडा नम्बर १ हाकुबाट अभियान शुरु गरेका छौँ, गाउँपालिकाको सबै वडामा यो अभियान संचालन हुन्छ’, उनले भने, ‘हरेक जेष्ठ नागरिकलाई एउटा फाइबर सिरक र हट ब्याग वितरण गर्छौं ।’

त्यसैगरी कुमारी बैकको समन्वयमा बैङ्कका कर्मचारीसहित जनप्रतिनिधिहरु घरघरमै पुगी सामाजिक सुरक्षा भत्तासमेत वितरण गरिएको उनले बताए । वृद्ववृद्वाहरुको पहुँच बैङ्कसम्म नहुँदा लामो समयसम्म वृद्वभत्ता नलिएकाहरुका लागि बैङ्कको कर्मचारी साथमा लगि गाउँपालिकाले घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको उनले बताए ।

गाउँपालिकाको पाँचै वटा वडाका ४ सय ४४ जनालाई न्यानो कपडा स्वरुप फाइबर सिरक र हटब्याक वितरण गरिने अध्यक्षसँग जेष्ठ नागरिक सम्मान कार्यक्रमका फोकल पर्सन सन्देश पौडेलले बताए । 

फागुन महिना भित्रमा वितरणको काम सक्ने उनले बताए । हिमाली जिल्ला रसुवाको उत्तरी भेगमा प्रायः बाह्रै महिना चिसो मौसम हुने भएकाले वृद्ववृद्वाहरुलाई न्यानो कपडा तथा विद्युतीय हट ब्याग प्रदान गरिएको उनले बताए । 

घरमै न्यानो कपडासहित भत्ता पाएसँगै वृद्धवृद्धाहरु भने खुशी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ