arrow

श्रीलङ्गामा नेपालको गतिलो शुरुआत, नेभीलाई हरायो १११ रनले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
nepal-cricket-srilanka-2022.jpg

काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ । 

नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी स्पोर्ट्स क्लब २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । श्रीलङ्का नेभीका लागि एम मधुशङ्काले सर्वाधिक ३९ रनको योगदान गरे । 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई–दुई विकेट लिए । सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले एक–एक विकेट हात पारे । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे । 

आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११ र ज्ञानेन्द्र मल्लले दुई रन जोडे । श्रीलङ्का नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार विकेट लिए भने अवादतले तीन विकेट हात पारे । 

संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलङ्का गएको हो । त्यहाँ नेपालले चार अभ्यास खेल खेल्नेछ । चार अभ्यास खेल सकिएपछि नेपाल त्यतैबाट युएई प्रस्थान गर्नेछ । 

विश्वकप लिग–२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्यूगिनीसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ