एनआरएनएमा कडा निर्णय गर्ने बेला आएको छ : कुल आचार्य
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
854
Shares
तस्बिर– फाइल
काठमाडौं । गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेवार कुल आचार्यले संघमा कडा निर्णय गर्ने बेला आएको जनाएका छन् । मंगलबार आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै आचार्यले गएको झन्डै ८ महिनादेखि संसारभरबाट साथीहरुले आवाज उठाउँदा पनि डेलिगेट्स समस्याको समाधान नगरिएको बताए । उनले एकलौटी निर्वाचन आफूहरुलाई मान्य नहुने पनि उल्लेख गरेका छन् ।
‘यो संस्था तपाईं हामी सबैको हो। हामी सबै एउटै परिवार भएर बसेकोमा सानो समूहले आफ्नो स्वार्थका लागि यसलाई प्रयोग गर्दै आएको खुलासा भैसकेको छ । सहनुको पनि एउटा सीमा हुन्छ। अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नु पर्ने बेला आएको छ। म सबै साथीहरुलाई एक ढिक्का हुन र संस्थाको हितको लागि जस्तोसुकै कडा निर्णय गर्न पनि तयार रहन अपिल गर्दछु’आचार्यले भने।
एनआरएनएमा डेलिगेट्स विवाद समाधान नगरिकनै एकपक्षीय रुपमा निर्वाचन कार्यक्रम अगाडि बढाइए पछि संसारभरी त्यसको चर्को विरोध भएको छ।
उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३,६०० बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो ।
उच्चस्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउँदै दाबी विरोध गरेका थिए। उनले कुमार पन्तसमेत रहेको समितिले गरेको छानबिनको आधारमा झन्डै २,६०० प्रतिनिधि मात्रै मतदान गर्न योग्य रहेको निर्वाचन समितिलाई जानकारी गराएका थिए। तर अध्यक्ष पन्तको ठाडो दबाबमा निर्वाचन समितिले घलेले पठाएको सूचीबारे सुनुवाई नै गरेनन् ।
झन्डै १,००० फर्जी मतदातालाई समावेश गराएर गरिने कथित चुनावलाई परराष्ट्र मन्त्रालय र अदालतले पनि मान्यता नदिने जानकारहरु बताउँछन् ।