- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाले करिव ४ महिनाअघि माछापोखरीको मर्मत गर्नका लागि पोखरीबाट पानी निकाल्ने काम गर्यो ।
४७.९ हेक्टर क्षेत्रफलमा फैलिएको हेटौंडा-५ पिप्ले नजिकको माछापोखरी बर्षौदेखि मर्मत नगरेकाले जिर्ण बन्दै गएपछि २० वटा पोखरीको पानी सुकाएर थप खाल्डो बनाउने र डिल/ढिस्को ठूलो पार्ने काम केन्द्रले अघि बढाएको हो ।
हाल केही पोखरी मर्मत भैसकेका छन् भने केही मर्मतकै क्रममा छन् । मर्मतकै क्रममा रहेका पोखरी अचानक अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
पछिल्लो समय सबैको मनोरंजनको गतिलो साधन बनेको टिकटकमा अहिले पानी सुकाईएको उक्त पोखरी भाइरल बनेको हो । यहाँ टिकटक बनाउन र फोटो खिच्न सयौंको संख्यामा मानिसहरु आउन थालेका छन् ।
पोखरीको पानी सुकेकाले बीच-बीचमा धाजा फाटेको छ, जमीन चिरिएको छ । त्यसमाथि हरियो घास पलाएकाले पनि फोटो खिच्न र टिकटक बनाउन युवा युवती उक्त पोखरीमा आकर्षित भएका छन् ।
अहिले उक्त खालि पोखरीमा सयौंको संख्यामा मानिसको भिड लाग्ने गरेको छ । सबै आ-आफ्नै तालमा नाच्दै रमाइरहेको देखिन्छन् ।
मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाका प्रमुख सरोज यादवका अनुसार यहाँ ३७ वटा माछापोखरी छन् । जसमा २० वटा पोखरी मर्मत गर्न लागिएको हो । उनका अनुसार अव २ वटा पोखरी मर्मत गर्न बाकि छ जुन अहिले भाइरल भएको छ ।
पोखरीको माटो निकाल्न डोजरको प्रयोग गर्दा भासिने डर भएकाले केहि दिन सुख्खा रहन उक्त पोखरीलाई त्यसै छोडेको उनले हाम्राकुरालाई बताए । बैसाखसम्ममा सबै मर्मत सकेर माछाका भुरा हाल्ने तयारि रहेको उनले बताएका छन् ।
अहिले माछापोखरी वरिपरी तारवार लगाउने, जो कोहि पस्न नमिल्ने गरि गेट बनाउने, डिल/ढिस्को ठूलो बनाएर माछाका लागि घास उत्पादन गर्ने लगायतको काम भैरहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले जनाएको छ ।