- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरले विश्व मृगौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो ।
स्वाथ्यकर्मीको तर्फबाट मन्त्रीदेखि कलाकारसम्मले सहभागीता जनाएका थिए । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री रहेका थिए ।
त्यस्तै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा गरेका थिए । त्यसअघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
मृगौला दिवसको अवसरमा सचेतना बढाउन उक्त मैत्रिपूर्ण फुटबलको आयोजना गरिएको हो । नेपालमा मृगौला रोगीको संख्या बढ्दो क्रममा छ । मधुमेह र उच्च रक्तचापका कारण बढिरहेको मृगौला रोगको समस्या ४० वर्ष नाघेका व्यक्तिमा बढी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनि तीन हजार नयाँ मृगौला रोगी भेटिने गरेका छन् । हाल देशभर पाँच हजार आठ सय मृगौला रोगीले होमोडायलासिस गराउँछन् ।
यो संख्याका लागि देशभर चार सय ९४ वटामात्र डायलासिस मेसिन रहेको छ । तीमध्ये एक सय ८७ मात्र मेसिन सरकारी अस्पतालमा छन् भने बाँकी तीन सय सात वटा निजी अस्पतालमा छन् ।
सरकारले मृगौला रोगीको हेमोडायलासिस निःशुल्क गरे पनि मेसिनको पहुँच सबैतिर नहुँदा बिरामीले भने सास्ती व्यहोर्नुपरेको छ ।
चिकित्सकहरुका अनुसार मृगौला रोगबाट बच्न सन्तुलित र स्वस्थ्य खानपान, तौल नियन्त्रण, पानी प्रशस्त सेवन, गुलियो, मैदाबाट बनेका खाद्यान्न वर्जित गर्नुपर्ने हुन्छ ।