'मुख्यमन्त्रीले विद्युतीय बसका लागि छुट्याएको बजेट अन्त खर्च गर्छु भन्नु नाजायज'
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
790
Shares
वाग्मती । सदनबाट पास भएको बजेट सदनलाई जानकारी नदिई अन्यत्र खर्च गर्नु कानुन विपरीत हुने बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।
प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा प्रदेशसभा बैठकमा आज आफ्नो धारणा राख्दै शाक्यले प्रदेशको आफूहरूसमेत सहभागी भई तयार गरेका सुरुङ मार्ग, विद्युतीय बस सञ्चालन लगायतका महत्त्वपूर्ण योजना कटौती गर्ने सरकारको निर्णय उचित नभएको बताइन् ।
“मुख्यमन्त्रीले विद्युतीय बस सञ्चालनका लागि तथा सुरुङ मार्ग निर्माणका लागि छुट्याएको बजेट तुरुन्तै अन्त खर्च गर्छु भनेर संसद्मा उभिएर भन्नुभएको कुरा नाजायज छ” उनले भनिन् ।
संसद् सञ्चालन गर्न सत्तापक्षले भन्दा बढी प्रमुख प्रतिपक्षका रूपमा आफूहरूले भूमिका खेलेको बताइन् । जनताप्रति सरकार र प्रतिपक्ष दुबै उत्तरदायी तथा जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । सरकार र प्रतिपक्ष कसैले पनि सङ्कीर्ण सोच राख्न नहुने शाक्यले बताइन् ।