arrow

कुमार पन्तले नै अदालतको अपहेलना गरिरहेका छन् : उपाध्यक्ष लामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
sonam-lama.jpg

काठमाडौं । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सोनाम लामाले गत डिसेम्बर २०२१ भित्र निर्वाचन गराउन नसकेर कामचलाउ अध्यक्ष कुमार पन्तले नै सम्मानित अदालतको अपहेलना गरेको जनाएका छन्।

लामाले गत अक्टोबर २०२१ भित्र सङ्घको महाधिवेशन र निर्वाचन गराउन नसकेका कारण परराष्ट्र मन्त्रालयले सङ्घका प्रमुख संरक्षक शेष घलेलाई महाधिवेशन सम्पन्न गर्न पत्र लेखेको स्मरण गरे।

तर उक्त निर्देशन विरुद्ध कार्य समितिमा कुनै छलफल नै नगरी अध्यक्ष पन्त उच्च अदालत पाटन पुगे पछि अदालतले डिसेम्बर २०२१ भित्र निर्वाचन गराउने काममा कुनै बाधा अवरोध नगर्नु भनी मन्त्रालयलाई अन्तरिम आदेश दिएको थियो।उक्त रिट निवेदन उपर अन्तिम फैसला हुन अझै बाकी नै छ।

"डिसेम्बर २०२१ भित्र चुनाव गराउँछु भनेर अदालतलाई भन्ने तर सो मिति भित्र चुनाव गराउन नसक्नु सम्मानित अदालतको अपहेलना हो," एनआरएन मामिला सम्बन्धी जानकार अधिवक्ता सुनिल पोखरेलले भने।  "त्यस्तै दशौँ महाधिवेशन गराउन संरक्षक परिषद्लाई परराष्ट्र मन्त्रालयले दिएको आदेश सम्बन्धी मुद्दा विचाराधीन रही रहँदा संरक्षक परिषद् विघटन गरेको निर्णय गर्नु अदालतको अपमान हो। "

उपाध्यक्ष लामाले पनि आइसीसीले प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न नसके पछि गत २२ जनवरी २०२२ मा उच्चस्तरीय समिति गठन गरेको तर समितिले काम पुरा गर्दा नगर्दै समिति भङ्ग गरिएको भनी संरक्षक परिषद् र समितिको अपमान गरेको बताए।

"हामीले नेपाल सरकार वा सम्मानित अदालतको अपमान गर्ने काम कहीँ कतै गरेका छैनौँ र गर्ने पनि छैनौँ। तर सङ्घको अभिभावकको रूपमा रहेको नेपाल सरकार विरुद्ध एकतर्फी रूपमा मुद्दा मामिला गर्ने, सम्मानित अदालतको मानहानि गर्ने काम कामचलाउ अध्यक्ष पन्तले नै पटक पटक गरिरहेका छन्," उपाध्यक्ष लामाले भने। " अब संसारभरिका साथीहरूलाई कामचलाउ अध्यक्ष पन्तले जवाफ दिनु पर्छ। "

एनआरएनएको गत वर्ष निर्वाचित ६५ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू मध्ये ४५ भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भङ्ग गरिएको भन्ने गत २ मार्चको बैठकको निर्णयको कुनै कानुनी हैसियत नरहेको जनाएको थियो। उक्त बैठकले प्रमुख संरक्षक शेष घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट पनि दिएको थियो। 

सोही म्यान्डेट तथा सङ्घको विधानको दफा १६.१.४ ले दिएको अधिकार प्रयोग गरी प्रमुख संरक्षक घलेले यही २२-२५ मार्चमा काठमाडौंमा दशौँ महाधिवेशन बोलाएका छन्। उनले उपाध्यक्ष लामाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति तथा सङ्घको नयाँ नेतृत्व चयन गर्न विश्व बराल (अमेरिका) को संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ