arrow

नयाँ दूरसञ्चार विधेयकको मस्यौदा तयार गर्दैछौं- सञ्चार सचिव बैकुण्ठ अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
baikuntha-aryal-sanchar.png

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले नयाँ दूरसञ्चार विधेयकको मस्यौदा तयार भइरहेको बताएका छन् । तीव्र रुपमा बढ्दो प्रविधिको विकाससँगै समय सापेक्ष हुने गरी दूरसञ्चार ऐन २०५३ लाई मन्त्रालयले पुनर्लेखन गरिरहेको उनले बताएका हुन् ।

सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘फेयर डिजिटल कन्ज्युमर फर डिजिटल ट्रान्सफर्मेसन’ नामक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सचिव अर्यालले यस्तो जानकारी दिएका हुन् । 

अन्तरक्रियापछि हाम्राकुरासँग बोल्दै सचिव अर्यालले भने, ‘समय सापेक्ष हुने गरी नयाँ दूरसञ्चार विधेयकको मस्यौदा तयार गर्दैछौं ।’ यस्तै उनले यो मस्यौदा चाँडै संसदमा जाने विश्वास व्यक्त गरेका छन् । संसद अधिवेशन भने मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ । 

यस्तै उनले सामान्य रूपमा सबैले युट्युबमा भिडियो अपलोड गर्न पाउने कुरासमेत स्पष्ट पारेका छन् । उनले अनलाइन टीभी हौं भनेर माइक तेर्स्याउनेको हकमा धरौटी राख्नु पर्ने भन्ने किसिमले नियमन गरिएको स्पष्ट पारेका छन् ।

विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ को अवसर पारेर प्राधिकरणलले प्रविधिको बढ्दो विकाससँगै उपभोक्तालाई कसरी सचेत बनाउन सकिन्छ र यसका लागि विभिन्न निजी एवं सरकारका सम्बन्धित निकायहरुले कसरी काम गर्न सक्छन् भन्ने किसिमको अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले उपभोक्ताको अधिकारका लागि सेवा प्रदायक संघसंस्थाहरुले विभिन्न क्षेत्रमा थप काम गर्नुपर्ने बताएका छन् । 

प्रविधिको बढ्दो प्रयोग र विकाससँगै यसले उपभोक्तालाई गरिरहेको हानि कसरी कम गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी रहेको उनले बताए । उनले प्रविधिको क्षेत्रमा धेरै विकास गर्न सकिने बताउँदै यो क्षेत्रलाई भू–राजनीतिले समेत असर नपार्ने बताए ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे, नेपाल राष्ट्र बैंक पेमेन्ट सिस्टम डिपार्टमेन्टका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल टेलिकमकी उपप्रबन्ध निर्देशक संगीता पहाडी, आइस्पानका अध्यक्ष सुधीर पराजुली, दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुंवर, मेरो अड्डाका सहसंस्थापक एवं सीईओ आलोक सुवेदी र आईसीटी विशेषज्ञ हेमपाल श्रेष्ठले प्यानल अन्तरक्रिया गरेका थिए ।

नेपाल राष्ट्र बैंकका तर्फबाट पौडेलले प्रविधिका क्षेत्रमा धेरै कुराहरुमा अघि बढिसकेको र धेरै कुरा गर्दै जाने क्रममा रहेको बताए । यस्तै प्राधिकरणका निर्देशक घिमिरेले प्राधिकरणले आफ्नो क्षेत्रबाट प्रविधिको दुरुपयोग रोक्न नियमन एवं नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताएका छन् ।

टेलिकमले आफ्ना उपाभोक्तालाई भने अनुसारका सेवाहरु कुनै तलमाथि नगरी उपलब्ध गराइरहेको उप प्रबन्ध निर्देशक पहाडीले बताएकी छिन् । आइस्पानका अध्यक्ष पराजुलीले इन्टरनेट सेवामा उपभोक्तालाई गुणस्तरीण सेवा प्रदान गर्न आइस्पान लागि परेको बताएका छन् ।

यस्तै दराजकी प्रबन्ध निर्देशक कुंवरले कम्पनीले उपभोक्ताको डेटा सुरक्षाका लागि अन्तर्राष्ट्रिय नियमहरु पालना गर्दै आएको र गुणस्तरीय सेवा प्रदान गर्न कटिवद्ध रहेको बताइन् । मेरोअड्डाकाका सीईओ सुवेदीले प्रविधि क्षेत्रमा नेपाली उपभोक्तालाई सचेत गराउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले उपभोक्तालाई अझैं विश्वसनीय सेवा दिन र कम्पनीहरुले प्रविधिका क्षेत्रमा धेरै कामहरु गर्न बाँकी रहेको बताए । 

आईसीटी विशेषज्ञ श्रेष्ठले प्यानल अन्तरक्रियालाई विशेष ढंगले अघि बढाउँदै विज्ञान तथा प्रविधि क्षेत्रमा रहेका निजी र सरकारी संघसंस्थाहरु एवं नियामक निकायहरुले अझै धेरै कुराहरुको अभ्यास गर्न बाँकी रहेको र यसलाई गति दिन आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ