- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक दिन गौतम बुद्ध एक वृक्षलाई नमन गर्दै थिए । उनका शिष्यले यो देखेर छक्क परे। उनले बुद्धलाई भने- प्रभु ! तपाईँले त्यो वृक्षलाई नमन किन गर्नुभयो ?' शिष्यको कुरा सुनेर बुद्धले भने- ' के यस वृक्षलाई नमस्कार गर्दा कुनै अप्रिय घटना भयो ?'
बुद्धको जवाफ सुनेर शिष्यले भने- 'होइन प्रभु। त्यस्तो त होइन, तर तपाई जस्तो महान् व्यक्तिले रुखलाई अभिवादन गरिरहनुभएको देखेर अचम्म लाग्यो । उसले न त तपाईँको कुराको जवाफ दिन सक्छ न त तपाईँको नमनले खुशी व्यक्त गर्न सक्छ।'
बुद्ध हल्का मुस्कुराए र भने - 'वत्स ! तिम्रो सोच गलत छ। वृक्षले मलाई बोलेर जवाफ नदिन सक्छ तर जसरी हरेक मानिसको शरीरको भाषा हुन्छ, त्यसरी नै प्रकृति र रुखको पनि फरक फरक भाषा हुन्छ । सम्मानित हुँदा उनीहरू खुशी र कृतज्ञता व्यक्त गर्छन्। मैले यो रुखमुनि बसेर ध्यान गरेँ, यसको पातले मलाई शीतलता दियो, घामबाट जोगाएको थियो । हरेक पल यो रुखले मलाई रक्षा गर्यो।'
'यसप्रति कृतज्ञता व्यक्त गर्नु मेरो कर्तव्य हो। प्रत्येक व्यक्ति प्रकृतिप्रति सधैँ कृतज्ञ रहनुपर्छ, किनभने प्रकृतिले मानिसलाई सुन्दर जीवन प्रदान गर्दछ। तिमी यो रुखलाई हेर यसले मेरो कृतज्ञता र धन्यवादलाई धेरै सुन्दर ढङ्गले स्वीकार गरेको छ । वृक्षले आगामी दिनमा पनि हरेक व्यक्तिको हरसम्भव सेवा गरिरहने प्रतिक्रिया दिएको छ।'
बुद्धको कुरा सुनेर शिष्यले रुखतर्फ हेरे । शिष्यलाई त्यो रुख साँच्चै अर्कै आनन्दमा झुलिरहेको जस्तो लाग्यो । त्यसका पात, हाँगा र फूलहरूले मनलाई अचम्मको शान्ति दिइरहेको महसुस गरे । यो देखेर शिष्य स्वतः वृक्षको सम्मानमा झुके ।