arrow

जितको आधार बनाएर बाहिरिए रोहित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
rohit-poudel-cricket-2022.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध जितको आधार तय गरेर रोहित पौडेल बाहिरिएका छन् । 

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा २०५ रनको लक्ष्य पछ्याउने क्रममा ४२ रन जोड्दा ४ विकेट गुमाइसकेको नेपालका लागि पाँचौं विकेटका लागि रोहित र आरिफ शेखले १०२ रनको साझेदारी गरे । 

सो क्रममा रोहित ८२ बलमा ५८ रन बनाएर आउट भए । आरिफले अर्धशतक बनाइसकेका छन् । 

आसिफ शेखले १६, दिपेन्द्र सिंह ऐरीले ८, ज्ञानेन्द्र मल्लले ४ तथा कुशल भुर्तेलले १ रनमात्र बनाए । 
 

यसअघि टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो । 

पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए ।

शृंखलाको दोस्रो खेल नेपालले १८ मार्चमा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल २१ मार्चमा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल २२ मार्चमा पिएजनीविरुद्ध खेल्ने छ ।

नेपाल आठ खेलमा आठ अंकसहित छैटौँ स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन ।

त्यस्तै यूएई भने १५ खेलमा १८ अंकसहित दोस्रो स्थानमा भने ओमान २८ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका समान १४ अंकसहित चौथो र पाँचौँ स्थानमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ