arrow

रुस–युक्रेन युद्धको दूरी अमेरिका र चीनबीच, बाइडेनले दिए सीलाई चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
xi and biden.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार १ सय १० मिनेट लामो भिडियोकलमार्फत वार्ता भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि जारी युद्धबीच रुसलाई हतियार उपलब्ध नगराउन चीनलाई सचेत बनाउने किसिमले दुवै शक्तिराष्ट्र प्रमुखबीच वार्ता भएको हो ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई युक्रेनको युद्धमा बेइजिङले मनस्कोलाई सहयोग उपलब्ध गराएमा त्यसको  ‘परिणाम र नतिजा’ भोग्नुपर्ने भन्दै चेतावनी दिएको ह्वाइट हाउसले जनाएको छ । वार्ता बारेका थप जानकारी भने ह्वाइट हाउसले सार्वजनिक गरेको छैन ।

बाइडेनसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले युक्रेन संकट पछाडिको समस्या समाधान गर्न रुससँग वार्ता गर्न अमेरिका र नेटोलाई आग्रह गरेको र अन्धाधुन्ध प्रतिबन्धको विरोध व्यक्त गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

‘युक्रेन संकट हामीले हेर्न चाहेको कुरा होइन, यी घटनाहरूले फेरि देखाउँछ कि देशहरू युद्ध मैदानको बिन्दुमा आउनु हुँदैन। द्वन्द्व र टकराव कसैको हितमा हुँदैन । शान्ति र सुरक्षालाई अन्तर्राष्ट्रिय समुदायले सबैभन्दा बढी महत्व दिनुपर्छ’, ग्लोबल टाइम्सका अनुसार वार्ताका क्रममा सीले भनेका थिए ।

अमेरिकाले नयाँ शीतयुद्ध, चीनको प्रणालीमा परिवर्तन, चीन विरुद्ध बलियो गठबन्धन, ुताइवान अलगतावादुलाई समर्थन गर्ने वा चीनसँग द्वन्द्वको खोजी नचाहेको वार्ताका क्रममा बाइडेनले भनेका छन् ।

युक्रेन संकटको विषयमा चिनियाँ अडानलाई अमेरिकी उच्च अधिकारीहरूको दबाबले असर नपार्ने किसिमको सीको टिप्पणी आएको छ । वार्तापछि ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले भनेकी छिन्, ‘युक्रेनी शहर र नागरिकहरूविरुद्ध क्रूर आक्रमण गर्दा रुसलाई चीनले भौतिक सहयोग उपलब्ध गराएमा त्यसको असर र नतिजा के हुनेछ भनेर राष्ट्रपतिले विस्तृत जानकारी दिनुभयो। र त्यो हामीले हेरिरहेका छौं र विश्वले हेरिरहेको छ।’

रुसलाई सहयोग नगर्न भनेर अमेरिकाले प्रत्यक्षरुपमा चीनलाई चेतावनी दिन नसके पनि घुमाउरो तरिकाले भने त्यसो नगर्न भन्दै आएको छ । बाइडेन र सीबीच वार्ता हुनुअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र परराष्ट्र मामिलाका लागि उच्च चिनियाँ अधिकारी याङ जिएचीबीच रोममा भेटवार्ता भएको थियो । यद्यपि, यो भेटमा अमेरिकी पक्षलाई कुनै उल्लेख्य उपलब्धि हात लाग्न सकेन ।

चीनले रुस र युक्रेनबीचको युद्धलाई लिएर आफ्नो लयलाई अमेरिकी सहकार्य अथवा धम्कीले तलमाथि नगर्ने संकेत पटकपटक गरिसकेको छ ।

यस बिषयमा चीनको नान्जिङ विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक झु फेङले चीन र अमेरिकी सम्बन्ध झनै टाढा भइरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘युक्रेन संकटले चीन र संयुक्त राज्य अमेरिकालाई अझ टाढा बनाइरहेको छ, र पर्यवेक्षकहरूले उनीहरूका नेताहरू भेट्ने वा चाँडै नै सम्बन्ध सुधार हुने आशा गर्दैनन्’, एसिया टाइम्समा उल्लेख छ ।

यहाँसम्म की चिनियाँ विदेशमन्त्री वाङ यीले यस मुद्दासँग चीनको कुनै सरोकार नभएको बताएका छन् । मस्कोलाई सजाय दिने अन्तर्राष्ट्रिय प्रयासमा बेइजिङले रुससँगको व्यापार कटौती नगर्ने यीले भनेका छन् ।

‘चीन संकटको पक्ष होइन, न त यसले (चीनले) प्रतिबन्धको असर पार्न चाहन्छ’, वाङले स्पेनका विदेश मामिला मन्त्री जोसे म्यानुअल अल्बारेससँगको टेलिफोन कलमा भनेका थिए, ‘चीनसँग आफ्नो वैधानिक अधिकार र हितको रक्षा गर्ने अधिकार छ।’

चीनले ढिलोचाँडो ताइवानलाई कब्जा गर्ने रणनीतिलाई झनै चुस्त बनाइरहेको छ । यसबाट सामान्य आंकलन के गर्न सकिन्छ भने भोलि ताइवानमाथि चीनले आक्रमण गर्दा त्यतिबेला रुसी मौन समर्थन चीनलाई चाहिन्छ नै त्यसै कारणले पनि अहिले चीन रुसप्रतिको आफ्नो नीतिमा अडिग रहने देखिन्छ ।

ग्लोबल टाइम्सले उल्लेख गरे अनुसार सीसँगको शुक्रबारकै वार्तामा पनि बाइडेनले ताइवान अलगवादीलाई अमेरिकाले समर्थन गर्न नचाहेको भनेका छन् । 

युक्रेनमाथिको द्धन्द्धलाई शान्त पार्ने हेतुले अमेरिकाले चीनलाई यस्तो टिप्पणी गर्दा पनि सीले भने आफु अडिग रहने टिप्पणी गरेका छन् । यी सबै कुराहरुले अमेरिका र चीनबीचको सम्बन्ध रुस(युक्रेनयुद्धले झनै टाढा बनाइरहेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ