arrow

आईपीयू सम्मेलन बालीमा, अध्यक्ष तिमिल्सिनासहित नौ संसदीय प्रतिनिधि सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
ipu-144-bali.jpg

काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४४‌औं सम्मेलन इन्डोनेसियाको बालीमा आइतबार साँझदेखि शुरु भएको छ । विश्वभरबाट १०० भन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी रहेको छ ।

अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा जारी सम्मेलन चैत्र १० गतेसम्म चल्नेछ । सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले  ‘शून्य उत्सर्जन प्राप्त गर्न जलवायु परिवर्तन सम्बन्धी कार्यमा संसदको परिचालन’ विषयमा बोल्ने कार्यक्रम रहेको छ।

त्यसैगरी सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड १९ विरुद्धको लडाइँमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। सोही अवसरमा गभर्निङ काउन्सिलको २०९ औँ सत्रमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा अनिता देवकोटा र भैरव सुन्दर श्रेष्ठले सहभागिता जनाउने छन् । 

उक्त अवसरमा दुई शीर्षकहरूमा हुने विभिन्न छलफल कार्यक्रममा प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ भने महिला संसद सदस्यहरुको बैठक र छलफलमा देवकोटा र युवा संसद सदस्यहरुको बैठकमा उमाशंकर अरगरियाले सहभागिता जनाउने कार्यतालिका रहेको छ । 

त्यसैगरी सुरेन्द्र कुमार कार्कीले ‘इन्गेजिङ फर अ युनिभर्सल ब्यान अन न्युक्लियर टेष्टस्’ विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्नेछन् । उक्त सम्मेलनसँगै संचालन हुने ‘एसोसिएनसन अफ सेक्रेटरिज जनरल अफ पार्लियामेन्ट्स’ सम्मेलनमा संघीय संसदका महासचिव डा. भरतराज गौतम सहभागी हुनेछन् । 

अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की  र उमाशंकर अरगरिया सहभागी छन् । 

त्यसैगरी संघीय संसदका महासचिव डा भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय भ्रमण टोलीमा सहभागी छन् । 

सम्मेलनमा सहभागी  भएर प्रतिनिधिमण्डल चैत्र ११ गते शुक्रबार नेपाल फर्कनेछ।



नयाँ