arrow

दलमा सक्रिय हुनेले शान्ति समाजको पदाधिकारी, सदस्य बन्न नपाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
hurpes.jpg.jpeg

काठमाडौं ।  राजनीतिक दलका विभिन्न तहमा क्रियाशील हुनेहरूले मानव अधिकार तथा शान्ति समाजको कुनै पनि तहको पदाधिकारी-सदस्य बन्न नपाउने भएका छन् ।

लोकतन्त्रका लागि कार्यरत संस्था भएका कारण लोकतन्त्रमा विश्वास गर्ने विभिन्न दलका सदस्यलाई शान्ति समाजको सदस्य बन्नबाट बञ्चित गरिएको छैन । तर समाजलाई प्रतिनिधित्व गर्दै अग्रपङ्क्तिमा खट्ने समाजका केन्द्रीय कार्यसमिति तथा जिल्ला कार्यसमितिका पदाधिकारी-सदस्य राजनीतिक दलका विभिन्न तहमा पदीय जिम्मेवारी धारण गर्दा संस्थाको निष्पक्षतामा प्रश्न उठ्ने भएकाले यस सम्बन्धमा सीमा निर्धारण गरिएको सभापति गोविन्द खनालले जानकारी दिए ।

गत फागुन २७–२८ गते कपिलवस्तुको वाणगङ्गामा सम्पन्न शान्ति समाजको २४औँ राष्ट्रिय परिषद् बैठकले केन्द्रीय कार्यसमिति-जिल्ला कार्यसमितिका पदाधिकारी-सदस्यको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा प्रस्ताव पारित गरेको हो । स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा उम्मेदवार हुने वित्तिकै केन्द्रीय र जिल्ला कार्यसमितिका कुनै पनि पदाधिकारी-सदस्य स्वतः पदमुक्त हुने व्यवस्था बैठकले गरेको छ । स्थानीय, प्रादेशिक र सङ्घीय संरचनामा निर्वाचित कुनै पनि व्यक्ति शान्ति समाजको केन्द्रदेखि जिल्लासम्मको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् । साथै मनोनितसमेत हुन नसक्ने व्यवस्था गरिएको छ ।

शान्ति समाजको विधानको प्रस्तावनामा नै गैरसरकारी, गैरराजनीतिक, लाभ निरपेक्ष र निष्पक्ष संस्थाका रूपमा संस्थाको स्थापनार्थ विधान तर्जुमा गरी जारी गरिएको स्पष्ट छ । नेपाल सरकारका निजामती कर्मचारी र सुरक्षा निकायमा आबद्धहरु पनि शान्ति समाजको केकास-जिकासका पदाधिकारी-सदस्य निर्वाचित-मनोनित हुन सक्ने छैनन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये सभापति, वरिष्ठ उपसभापति, महासचिव र कोषाध्यक्षले कुनै पनि राजनीतिक दलको कुनै पनि तहको निर्वाचनमा प्रतिस्पर्धा गर्नासाथ निजले शान्ति समाज केन्द्रीय कार्यसमितिमा धारण गरेको पद स्वतः रिक्त हुने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले कुनै पनि राजनीतिक दलको कुनै पनि तहको कार्यकारिणी पद धारण गर्नासाथ निजले शान्ति समाज केन्द्रीय कार्यसमितिमा धारण गरेको पद स्वतः रिक्त हुनेछ । अन्य तहका पदाधिकारी एवं सदस्यले पनि राजनीतिक पदमा गएपछि पद स्वतः रिक्त हुने व्यवस्था गरिएको छ ।

कुनै पनि राजनीतिक दलको कुनै पनि तहको कार्यकारिणी पद धारण गरेको व्यक्ति शान्ति समाज केन्द्र, जिल्ला कार्यसमितिको पदाधिकारी-सदस्य पदमा उम्मेदवार हुन पाउने छैन । समाजका सबै तहका पदाधिकारी-सदस्यले सदैव नैतिकताको उच्चतम मापदण्ड कायम गर्नेछन् र संस्थाको निष्पक्षता, मर्यादामा धक्का पुग्ने कुनै कार्य गर्ने छैनन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको समाजले जनाएको छ ।

यो मापदण्ड शान्ति समाजको केन्द्रीय कार्यसमिति विनियम २०५८ र जिल्ला शाखा विनियम २०५८ मा पनि समावेश गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ