arrow

शिखरका नयाँ उत्पादन र रणनीतिसहित बजारमा आएका छौं – रामकृष्ण प्रसाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
275741444_1153338638773724_610782263347406312_n.jpg

गुणस्तरीय जुत्ताका लागि नेपालीमाझ चर्चित ब्राण्ड शिखर सुजले नयाँ रणनीतिका साथ बजार विस्तार गरिरहेको छ । अहिले काठमाडौंको गोलढुंगास्थित उद्योगबाट दैनिक २५ देखि ३० हजार जोर उत्पादन क्षमताका साथ कम्पनीले जुत्ता चप्पलसहितका फुटवेयर उत्पादन गरिरहेको छ । न्यून, मध्यमदेखि उच्च रेन्जमा गुणस्तरीय उत्पादनहरु उपभोक्ताको मागअनुसार देशभरका रिटेल, होलसेल, डिलरदेखि सामान्य पसलहरुसम्म पुर्याइरहेको छ ।  कोभिड १९ को महामारीका बेला विश्वभर झैं नेपाली उद्योग क्षेत्र पनि मारमा परेको थियो । अहिले त्यसबाट पार हुँदै नयाँ रणनीतिका साथ बजारमा आक्रामकता फैलाइरहेको शिखर सुज इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईसँग हाम्राकुराले गरेको अन्तर्वार्ताको सम्पादित अंश –

शिखर सुज कसरी आइरहेछ बजारमा ?
शिखर सुजले पहिले सीमित ठाउँमा आउटलेट राखेको थियो । अब चाहिँ सबैतिरबाट उपभोक्तामा आउँदैछ । पहिला चाहे भृकुटीमण्डपबाट होस्, चाहे शोरुमबाट होस्, फ्रेन्चाइज शोरुम, रिटेल कहीँबाट पनि क्लासको जुत्ताहरु सीमित ठाउँबाट बेचिराख्या थियो । सबैको पहुँचमा थिएन । अहिले शिखर सुज सबै मास, वर्ग, तप्कालाई हुने गरी कम्पिटेटिभ प्राइसमा, बेटर क्वालिटीमा अनि सबै ठाउँमा पाउने गरेर आइराखेको छ । सय रुपैयाँको सामान प्रयोग गर्नेदेखि पाँच दश हजारको खोज्नेहरुका लागि गरेर शिखर सुज उपलब्ध छ । अब, शिखर सुज खोज्न मेला कुर्नुपर्ने स्थिति रहेन । सबै पसलहरुमा पाउँछ ।

बजार विस्तारका लागि कस्ता उत्पादन छन् ? 
हामीले ‘हर घर जुत्तामा शिखर’ भन्ने नाराका साथ बजार विस्तार गरिरहेका छौं । भनेको शिखर सुजमा अब डिलरले, होलसेलरले अथवा रिटलरले अथवा कस्टमरले सबैले सबै प्रोडक्ट पाउनु हुन्छ । जुन सबैसँग हुँदैन । तपाईले पार्टी सुजदेखि लिएर, स्पोर्ट सुजदेखि लिएर, स्कुल ड्रेसका जुत्ता, बाथरुममा लगाउने स्लिपरदेखि सबै क्वालिटीको सबै रेन्जको, सबै समूहलाई उपयुक्त हुने एक मात्रै ब्राण्ड शिखर बनाउने भनेर हामीले काम गरिरहेका छौं ।

शिखर सुजको गुणस्तरमा कसरी विश्वास गर्ने ?
शिखर सुज एउटा लेभलको ब्राण्ड हो । हामी विगत दुई दशक भन्दा लामो समयदेखि नेपाली फुटवेयर बजारमा छौं । हाम्रो गुणस्तरमा कुनै पनि उपभोक्ताले प्रश्न गर्नुभएको छैन । तर केही समयसम्म प्राइसमा चाहिँ अलि कम्पिरेटिभ हैन कि भन्ने थियो । त्यो पनि अब हामीले उहाँलाई मौका दिँदैनौं । प्राइस पनि अब हाम्रो कम्पिरेटिभ भइसकेको छ र गुणस्तरमा त छँदैछ ।

भनेपछि शिखर सुज गुणस्तरसहित सस्तो र महँगो खोज्ने दुवैका लागि हो ?

सबैका लागि क्वालिटी अनुसार उहाँको प्राइस अनुसार सबैभन्दा बेस्ट विकल्प भनेको शिखरै हो भन्ने अनुभूति हामी गराउँछौं । 

यसको बजार कहाँसम्म छ ? 
‘यत्रतत्र सर्वत्र शिखर, हर घर जुत्तामा शिखर’ भन्ने नारा हो । यसको लागि च्यानल युज गर्नु पर्ने ठाउँमा च्यानल युज गर्छौं, फ्रेन्चाइ युज गर्नुपर्ने ठाउँमा फ्रेन्चाइज युज गर्छौं, रिटेल युज गर्नुपर्ने ठाउँमा रिटेल युज गर्छौं । जसो गरी पनि उपभोक्ता जहाँ हुनुहुन्छ त्यो ठाउँमा पुग्ने भन्ने हाम्रो एग्रेसिभ कार्यक्रम छ ।

शिखरको बजार कस्तो छ अरुको तुलनामा ?
मार्केटलाई हामीले सामान्यतया दुई किसिमले हेर्छौं । एउटा स्वदेशमा उत्पादन हुने उत्पादनको र विदेशबाट आयात हुने उत्पादनको । अब स्वदेशमा उत्पादन हुने उत्पादनको त्यो एउटा सेगमेन्ट भयो । बाहिरबाट आउनेसँग प्रतिस्पर्धा गर्ने अर्को सेजमेन्ट भयो । अब यहाँ भएको सेजमेन्टको सबैभन्दा धेरै मार्केट हिस्सा भएको कम्पनीहरुमध्ये शिखर पनि एउटा हो । बाहिरबाट आयात हुने जुन प्रोडक्टछ त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो योजना हो । अहिलेको सिनारियो हेर्दा कोभिड भन्दाअघि हामीले एउटा सर्भे गरेका थियौं राष्ट्रिय स्तरमा । त्यो सर्भेमा नेपालमा जम्मा जुत्ता खपत हुने नेपालीहरुको प्रचलन अनुसार एक वर्षमा एक जनाले साढे दुईदेखि तीन जोर जुत्ता लगाउँछ । यसरी ९ देखि १० करोड जुत्ता चप्पल चाहिँ एक वर्षमा नेपालमा खपत हुन्छ भन्ने डेटा थियो । त्यतिबेला नेपालमा उत्पादन गर्ने कम्पनीहरु फुल फेजमा चलाउन सकियो भने हामीले १७ करोडदेखि १८ करोड जोर जुत्ताचप्पल यहाँ उत्पादन गर्न सक्छौं । त्यो लेभलको पूर्वाधार नेपालमा छ । त्यो सँगसँगै बाहिरबाट आएको डेटा नियाल्दा ५ करोड जोरको आसपासमा जुत्ता चप्पल विदेशबाट आयात भएको देखियो । यसमा एक्सपोर्टको कुरा पनि छ । एक दुई करोड जोर जुत्ता चप्पल एक्सपोर्ट पनि हुन्थ्यो त्यो बेलामा । तर जम्मा पूर्वाधार ५० प्रतिशत क्षमतामा पनि सञ्चालन भएको थिएन । अहिले आएर चेन्ज भएको छ । कोभिडको कारणले आयातको च्यानल टुट्दा बाहिरबाट आयात नै भएन । 

कोभिड १९ महामारीको असर कस्तो पर्यो शिखर सुजलाई ?
समग्रमा इफ्याक्ट त पार्यो नै । त्यसमा पनि हामीले त एकदमै असर पारेको अनुभूति गर्यौं । हामीले यो कोभिडको अवधिमा २ वटा फ्याक्ट्री नै सटडाउन गर्यौं । विराटनगरमा हाम्रो एउटा फ्याक्ट्री थियो । त्यस्तै काठमाडौंमै रहेको अर्को एउटा फ्याक्ट्रीलाई हामीले सेलआउट गर्यौं । तर अब अहिले चाहिँ हामी एकदमै पूर्णरुपमा फ्रेस भएर सबै सेगमेन्टमा र मूल्यमा प्रतिस्पर्धासहित बजारमा नयाँ जोश र नयाँ उत्साहका साथ गइसकेका छौं ।

प्रतिदिन कति क्षमतामा उत्पादन गर्न सक्छ कम्पनीले ?
अहिले हामी दैनिक २५ देखि ३० हजार जोडी उत्पादन गर्ने क्षमतामा छौं । मागअनुसार हामीले यही क्षमतामा उत्पादन गरेर बजारमा जान सक्छौं । 

नेपाली जुत्ता उद्योगलाई सरकारले कसरी हेरिरहेको छ ?

नेपाली फुटवेयर इन्डस्ट्रीलाई यहाँसम्म ल्याइपुर्याउनमा सरकारले भन्दा पनि व्यावसायी स्वयंको मेहनत हो । पहिला पहिला फुटवेयरको कुरा पनि सुनिन्छ र भन्ने साइकोलोजी थियो सरकारमा । पछिल्लो समयमा हामीले वर्षौंदेखि मागेको कुराहरु फटाफट दिइरहनु भएको छ । यसको अर्थ हामीसँग ठूलो पूर्वाधार छ, त्यो चलाउन सक्यौं भने कम्पिटेटिभ प्राइस हुन्छ । त्यसपछि हामी एक्सपोर्ट गर्न सक्छौं । 

फुटवेयर इन्डस्ट्रीले भोगिरहेको समस्या के हो ?
पहिला व्यापारीहरुले भारतबाट, चीनबाट उधारोमा सामान ल्याउँथे । न्यून विजिकरणमा सामान ल्याउँथे । पेमेन्ट हुण्डीमार्फत गर्थे । बैंकिङ च्यानलबाट कुनै पनि पेमेन्ट हुँदैनथ्यो । त्यसले हामीलाई असाध्यै ठूलो मार गरिरहेको थियो । तर त्यसका बाबजुद पनि १०० रुपैयाँमा किनेको सामान ५० रुपैयाँ, ३० रुपैयाँ भन्सार गरेर ल्याउँथे । अहिले पछिल्लो अवस्थामा राज्यले अनिवार्य लेटर अफ क्रेडिट (एलसी) भनेको छ तयारी सामानलाई । अनिवार्य एलसी भन्दा हामीले के पाइरहेका छौं भने त्यो कुनै च्यानल, सिस्टमै नदेखाइकन सामान छिरिरहेको छ भन्नुको अर्थ भन्सारै नगरिकन तराई हुँदै भारतबाट सामान ल्याइरहेका छन् ।

भन्सार नतिरेरै सामान भित्रिन कसरी सम्भव छ ?
च्यानल मिलाएको छ । पैसा खुवाएका छन् । के गर्या छन् त्यो हामीले भन्न मिलेन । यदि राज्यले यो कुरालाई कन्ट्रोल गर्न सकेन भने राज्यसँग राजस्व पनि घट्छ । केही तस्करहरु एकदम मोटाउँछन् । र दुई वर्षभित्र सबै फ्याक्ट्रीहरु बन्द हुने अवस्थामा आउँछन् । राज्यले त्यो तराई एरियाबाट एक जोडी पनि ग्रे च्यानलबाट अथवा तस्करीबाट अथवा विना भन्सार सामान छुट्नु भएन । अहिलेको अवस्थामा खातामा राजस्व पनि नदेखिने, फ्याक्ट्री पनि झन् सुक्दै जाने र सर्टेन व्यक्तिहरु चाहिँ मोटाउने भइरहेको छ । कुनै व्यक्ति भारत गयो भने दुई हजार कार्टुन जुत्ताचप्पल ल्याउँदा एक सय दुई सयको एलसी बनाउँछ । बाँकी भन्सारबाट त्यत्तिकै नेपाल छिराउँछ । सरकारले एक जोडी जुत्ता पनि भन्सार नतिरी आउन दिनु भएन । यसलाई सरकारले पूर्णरुपमा नियन्त्रण गर्न सक्यो भने नेपाली फुटवेयर इन्डस्ट्रीले नेपाली माग त पूर्ति गर्छ नै सँगसँगै ठूलो मात्रामा एक्सपोर्ट गर्न सक्छ ।

अन्त्यमा, शिखर सुज नै किन ?
कम्पिटेटिभ प्राइस हो । बेस्ट क्वालिटी हो । नयाँ डिजाइन र नयाँ भेराइटी हो ।



नयाँ