arrow

घरेलु मैदानमै कमजोर टीम पीएनजीसँग दुवै खेल हार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
nepal-png-kirtipur-2nd.jpg

काठमाडौं । नेपालले घरेलु मैदानमा कमजोर पपुवा न्युगिनीसँग दुई वटा अन्तर्राष्ट्रिय क्रिकेट खेल हारेको छ । 

दोस्रो एकदिवसीय खेलमा तीन विकेटको जित निकालेसँगै पपुवा न्युगिनी (पीएनजी) ले नेपालविरुद्धको एकदिवसीय शृंखला २–० ले जित्दै क्लिन स्विप गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय ७९ रनको लक्ष्य पिएनजीले ४८.४ ओभरमा सात विकेट गुमाएर पुरा गर्यो ।

पीएनजीका लेगा सिएकाले सर्वाधिक ९० रन बनाए । उनले एक सय दुई बलमा १२ चौका र एक छक्का प्रहार गरे । यस्तै, रिले हेकुरेले ४८, सेसे बाउले ३८ र चार्ल्स एमिनीले ३५ रन बनाए ।

स्कोरबोर्डमा ७८ रन हुँदा तीन विकेट गुमाएको पिएनजीको इनिङ एमिनी र सिएकाले सम्हालेका थिए । यी दुई ब्याटरले चौथों विकेटका लागि एक सय १० रनको साझेदारी गरेका थिए ।

नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै, पवन सर्राफले दुई विकेट लिँदा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल तयार गरेको थियो । नेपालका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह सतकीय इनिङ खेलेका थिए ।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएको दीपेन्द्रले एक सय ४० बलमा सात चौकासहित एक सय पाँच रन बनाए । उनको यो पहिलो एकदिवसीय शतक हो ।

स्कोरबोर्डमा पाँच रन जोड्दा दुबै ओपनर गुमाएको नेपालको इनिङ दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए । देव र दीपेन्द्रले कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो ।

एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए ।

यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भिम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरेका थिए ।

नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भएका थिए ।

टोलीको खातामा आरिफ शेखले चार, सोमपाल कामी तीन रनमा अविजित रहेका थिए ।

पीएनजीका एलिइ नाओले तीन विकेट लिए । यस्तै, नोर्मान भानुआले दुई विकेट लिँदा चाड सोपर र चार्ल्स एमिनीले समान एक विकेट हात पारे ।

यसअघि भएको पहिलो खेलमा शुक्रबार नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

एकदिवसीय शृंखला समाप्त भएसँगै सोमबारदेखि नेपाल र पीएनजीसँगै मलेसिया सम्मिलित त्रिदेशीय टी २० शृंखला खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ