arrow

एमालेमा चित्तदुखाइः नयाँको प्रवेशले पुरानालाई अवसरबाट वञ्चित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । नेकपा एमालेभित्र नव प्रवेशीको बोलवाला हुन थालेपछि पुराना कार्यकर्ता अवसरबाट वञ्चित हुने अवस्था आएको छ । संगठन गर्दा बाहिर बस्ने अनि संगठन बलियो हुँदै आएपछि एमालेको झण्डामुनि ओत लागेर अवसरवादीहरु पार्टीमा आएपछि अवसरबाट बञ्चित हुने निश्चित भएको हो ।

 ‘पार्टीले चुनाव जित्ने नाममा अवसरवादीहरुलाई भित्राएको छ जुन कुराले तलदेखि माथिसम्म असर गर्छ’, एमालेका एक नेताले भने । उनका अनुसार दुर्गा प्रसाई, कोमल वली, करिष्मा मानन्धर, वज्रेश गुप्ता जस्ता गैर वामपन्थीहरुको बोलवालाले एमालेलाई संकट पुर्याउनेछ ।

 ‘हामीले चुनावको बेला यस्तो देख्दै आएका छौँ, अवसरवादीको भीड लाग्छ चुनाव सकिएपछि उनीहरु हराउँछन्, फेरि संगठन गर्न हामीनै खटिनुपर्छ । चुनाव आउँछ अनि हुलका हुल अवसरवादीको प्रवेश हुन्छ । पार्टी ठूलो हुन्छ । मोटाएको होकि भन्यो बेलुनजस्तो फुलेको मात्रै हुन्छ’, एमालेका एक नेताले गुनासो गरे । 

केही दिन यता एमालेमा प्रवेश गर्नेको संख्या हेर्दा सबै अवसरवादीहरुको मात्रै जमात रहेको छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गरे । 

उनी पञ्चायतकालमा पञ्च थिए । कांग्रेस शक्तिमा हुँदा कांग्रेस र माओवादी शक्तिमा हुँदा माओवादी बनेका थिए । उनलाई माओवादी अध्यक्ष प्रचण्डले पाँच वर्षअघि पार्टीमा भित्राएका थिए भने पाँच वर्षपछि ओलीले एमालेमा भित्राएका छन् । 

त्यस्तै अर्का व्यापारी मेयर विजय सरवागीलाई पनि एमालेले ल्याएको छ । मधेशमा पनि एमालेले अवसरवादीलाई स्थान दिएकोमा पार्टी कार्यकर्ता रुष्ट बनेका छन् ।

अभिनेत्री करिष्मा मानन्धर विभिन्न पार्टी चाहारेर एमालेमा छिरेकी हुन् । गायिका एवं संचारकर्मी कोमल वली पनि राप्रपा हुँदै एमालेमा छिरेकी थिइन् । अनि मेडिकल हुँदै तरकारी व्यापारी पनि भएका दुर्गा प्रसाई पहिले माओवादी थिए । प्रचण्डभक्त थिए । अहिले केपी शर्मा ओलीका भक्त हुन् । 

प्रसाई धुरन्धर खेलाडी हुन् भन्ने एमालेको लहर छ र ओलीले उनलाई निकै नै स्थान दिएकाले पनि चित्त दुखाउनेहरु धेरै छन् । 

नेकपा फुटेपछि पूर्व एमालेहरु एमालेतिर र पूर्व माओवादीहरु माओवादीतिर गए पनि कतिपय माओवादीका नेताहरु एमालेमा छिरेपछि उनीहरुले कार्यसमितिमा पनि रोजीरोजी पद पाएका छन् । त्यसबाटसमेत एमालेमै लामो रहेर सन्तोष मानिरहेका पुराना नेताहरुसमेत मुख्य जिम्मेवारीबाट फालिनु परेकामा चिन्तित छन् । 

‘एमालेका खाँटी कमरेडहरु अहिले म जसरी नै फालिनु परेको छ । पदको लोभ हैन तर कदर हुनुपर्छ भन्ने हो । नयाँ जोगीलाई प्राथमिकता दिइएको छ । खरानीले चमक दिएर होला’, एक पुराना केन्द्रीय सदस्यले भने । 



नयाँ