arrow

श्रीलङ्काको जस्तो सङ्कट आउन सक्ने अर्थविद्को चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
pyakurel-biswambar.PNG

काठमाडौं । अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले सरकारले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानको लागि गम्भीर भएर कदम नचाले श्रीलङ्काको जस्तो सङ्कट आउन सक्ने तर्फ सचेत गराएका छन् । अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार र सरोकारवाला निकायले गम्भीर भएर पहल लिनुपर्नेमा उनको जोड छ। 

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले श्रीलङ्काले सुरु सुरुमा अर्थतन्त्रमा समस्या हुँदा बेवास्ता गरेकोले आजको अवस्था व्यहोरेको पनि उल्लेख गरे । उनले भने,‘आजभन्दा तीन वर्ष अघि श्रीलङ्कामा जे खालको लक्षण अर्थतन्त्रमा देखियो, अहिले नेपालका मूलभूत आर्थिक परिसूचकहरू कताकति श्रीलङ्काको तीन वर्ष अघिको जस्तो देखिएको छ । त्यति वेला श्रीलङ्कामा बेवास्ता गरिएको थियो । अहिले उसले गम्भीर समस्या भोगिरहेको छ। त्यही भएर नेपाल गम्भीर हुनुपर्छ । अहिले हाम्रो सम्पूर्ण सरकार, सरकार सञ्चालन प्रणाली नै कस्तो देखियो भने पब्लिक सेक्टरबाट कराइरहने, मिडियामा हामी बोलिरहने, तर अर्थतन्त्रको समस्या समाधानको लागि सरकारको तर्फबाट कुनै चासो देखिएन । नेपालको सरकार सञ्चालन प्रणाली नै ज्यादै नै फितलो छ ।’

 उनले आफूहरूले मुलुकको अर्थतन्त्रको समस्या समाधानको लागि सकारात्मक सूचना दिएको पनि सुनाए । उनले श्रीलङ्काको सङ्कटबारे प्रकाश पार्दै भने,‘श्रीलङ्काले ऋण बढाउँदै गएको हो, बीआरआईअन्तर्गत मात्रै ऋण थिएन । श्रीलङ्का र चीनबीच राम्रो सम्बन्ध थियो । चीनसँग लिएको ऋणबाट धेरै असर पर्ने थिएन । श्रीलङ्कामा वैदेशिक पुँजीको अभाव देखिएको थियो ।’

उनले नेपालमा रेमिट्यान्सको सूचकमा पनि उतारचढाव आएको स्मरण गराए । उनले नेपालका आर्थिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने निकायहरूबिच नै समन्वय नभएको गुनासो पोखे । उनले भने,‘योजना आयोग एकातिर छ, राष्ट्र बैङ्क अर्कोतर्फ छ, र अर्थ मन्त्रालय अर्कोतर्फ छ । यी तीनै निकाय एकैतर्फ हुनुपर्छ । श्रीलङ्कामा करप्सन बढ्यो । परिवारवाद हाबी भयो । नेपालमा पनि त्यही अवस्था छ । ठुला-ठुला भ्रष्टाचार काण्ड त कति छन् । पैसा रोल हुनुपर्छ । अनि मात्रै विकास हुन्छ । पुँजीगत खर्च हुन सकेको छैन । नेपाल आयल निगम घाटामा छ। नेपाल एयरलाइन्स घाटामा छ। सरकारले किन सेतो हात्ती पालेर बस्ने ? यसलाई पूनसंरचना गर्ने हो कि ? रोजगारी पनि पटक्कै छैन । १९ देखि २९ वर्षको उमेरको समूह त १९ प्रतिशतभन्दा बढी बेरोजगारी छ । फरेन एक्सचेन्ज रिजर्भको पनि त्यही गति छ। आज ९ खर्बको रिजर्भ छ ।’

सत्ता पक्षीय गठबन्धनको बैठकमा कहिल्यै पनि अर्थतन्त्रको बारेमा छलफल नभएको उनको गुनासो छ । उनले भने,‘बरु, चुनावी तालमेलको विषयमा कुरा भएको छ । अहिले खाद्यान्नको मूल्य बढेको छ । हाम्रो उत्पादन खर्च पनि बढिरहेको छ । भारतसँग कुरा गर्नुपर्छ । भारतबाट आउने यी-यी वस्तुमा कर लगाउँछौँ भनेर भन्नुपर्‍यो । हामीले आँट देखाउनुपर्छ ।’

उनले अहिले दलहरू चुनावको मुखमा रहेको सुनाए । मन्त्रीहरूले प्रधानमन्त्रीलाई नटेरेको पनि उनको गुनासो छ। उनले भने,‘प्रधानमन्त्रीलाई कसैले टेर्दैन । नेपालको अर्थतन्त्रको अवस्थाबारे हामीले सकारात्मक सूचना दियौँ भने पनि राम्रो हुन्छ, सरकारलाई सतर्क बनाउनुपर्छ । तर नेपालमा गम्भीरता जुन देखाउनुपर्ने हो, त्यो देखाइएको पाइएन । मुलुकमा उत्पादन भएको अन्नलाई किन्नुपर्‍यो । स्टोरेज फ्यासिलिटी छ भन्ने कुरा तथ्याङ्कमा छ, तर व्यवहारमा ध्यान दिनुपर्छ । व्यापार घाटा ठुलो छ, व्यापारलाई सहजीकरण गर्नुपर्छ । सरकारले होमवर्क गर्नुपर्छ । रेमिट्यान्स किन घटेको हो ? करप्सनको केश टुङ्गो लगाउनुपर्छ । तर, यहाँ त कुनै कुरा भएको छैन । नेपालका शासकहरूले चेत राख्नुपर्छ ।’ 

त्यस्तै, अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रको समस्या श्रीलङ्काजस्तो अवस्थामा नपुगेको बताएका छन् । उनले अहिले श्रीलकांमामात्रै नभएर पूरा विश्व अर्थतन्त्रमा नै फेरबदल देखिएको सुनाए । उनले भने,‘बेलायतका अर्थमन्त्रीले स्प्रिङ स्टेटमेन्ट दिँदा अब १३ लाख मान्छे बेरोजगारमा जान्छ भनेका छन् । बेलायत नै आँत्तिसकेको छ । स्यांक्सन र काउन्टर स्यांक्सन भइरहेको छ । ग्लोबल्ली असर परिरहेको छ । हामी विश्व अर्थतन्त्रसँग परनिर्भर भइसकेकोले असर परेको छ । भोलि यस्तो हुन्छ भन्ने अनुमान गर्ने अवस्था छैन । पाकिस्तानले रसियाको ग्याँस लिने भनेको छ । विश्वमै अब ध्रुवीकरण भइरहेको छ। भोलिको दिनमा डलरको भविष्य के हुन्छ भन्न सक्ने स्थिति छैन ।’

उनले नेपालको अर्थतन्त्रलाई कक्टेल अर्थतन्त्रको संज्ञा दिए । उनले श्रीलङ्का र नेपालको अर्थतन्त्रको चरित्र नै फरक रहेको दृष्टान्त पेश गरे । उनले भने,‘श्रीलङ्का र हाम्रो अर्थतन्त्रको चरित्र फरक छ। श्रीलङ्काको अर्थतन्त्र १६ प्रतिशत पर्यटनमा डिपेन्ड थियो । कृषिमा उसको ८ प्रतिशत हो, हाम्रो २६ प्रतिशत हो । उसले आफ्नो रिसोर्सको मिस म्यानेजमेन्ट गर्‍यो । अर्ग्यानिक खेतीमा गयो । रासायनिक मल बन्द गर्‍यो । उत्पादन घट्यो । बढी ब्याजको ऋण लियो, त्यो पनि छोटो अवधिको लियो ।’

उनले पछिल्लो समय नेपालको वैदेशिक ऋण बढेको तथ्याङ्क सुनाए । उनले भने,‘यो सङ्केत राम्रो होइन । तर, हाम्रो ऋण कम ब्याजदारको छ, अनि लामो समयको छ । नेपालले माइक्रो लेभलको प्लान ल्याएन । अहिले नेपालको श्रीलङ्का र पाकिस्तानको अवस्था हुन्छ भन्ने होइन । मुद्राको अवमूल्यन गर्ने हो कि भन्ने कुरा आएको छ । यो सङ्कटको बेलामा मुद्रा अवमूल्यन गर्नुहुँदैन । नेपालको अर्थतन्त्र भनेको भारतीय अर्थतन्त्रको स्याटलाइट इकोनोमी हो। तर, नीच मारेर बस्यौँ भने र यतातर्फ ख्याल नै गरेनौँ भने ७÷८ महिनापछि समस्या आउँछ । भर्खरै हामीले पेट्रोलियम पदार्थको अभावको सन्दर्भमा पनि ठुलो लाइन लागेको देख्यौँ, यो मानिसक रूपमा डर देखियो, यसबाट बाहिर ल्याउनुपर्छ । वैदेशिक मुद्रा कम भयो । घट्ने दरलाई कसरी जोगाउने ? स्रोतको कमी भयो । मान्छेले पैसा होल्ड गरेको छ । अहिले नगद होल्ड भएको छ । निर्वाचनमा प्रयोग गर्न होल्ड भएको छ ।’

उनले सरकारी खर्च बढाउनुपर्ने सुझाव पनि दिए । उनले भने,‘सरकारी खर्च बढाउनुको साथै वैदेशिक मुद्राको स्टक बढाउनुपर्छ । भ्यु टावर बनाउनुको सट्टा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ । अब पोलिटिकल्ली पनि यसमा ईन्टरभेन्सन हुनुपर्छ ।’ उनले नेपालको अर्थतन्त्रको समस्याको कुरा गर्दा पहेलों बक्ति बलिसकेको सुनाए । उनले भने,‘हामी अब युर्टन हुन सक्ने अवस्था त छैन, अब रातो बत्ती बल्ने खतरा छ । तर, ग्रे-एरियामा आउने अवस्था छ । अहिले आँत्तिहाल्ने अवस्था छैन । भोलि सङ्कट आउन सक्छ है । सचेत भएर बस्ने बेला छ । सतर्कता अपनाउनुपर्छ । हामीले कृषि क्षेत्रमा लगानी बढाउनुपर्छ ।’

यस्तै, अर्थविद् डा. डिल्लीराज खनालले आफूहरूले धेरै पहिलेदेखि नै मुलुकमा आर्थिक सङ्कट आउँदै छ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने,‘अहिले जुन आर्थिक सङ्कट छ, एउटा क्षेत्र मात्रै होइन । पुँजीगत खर्च नहुने, राजश्व जम्मा भएर बस्ने । जुन ढङ्गले बैङ्किङ क्षेत्रबाट लगानी भयो । व्यापार घाटा बढ्यो, चालु खाता घाटा छ, धेरै समस्या छ । हिजो मात्रै राष्ट्र बैङ्कले अर्थतन्त्रमा निकै ठुलो सङ्कट नै आई सक्यो भनेर कठोर नीति लियो । हामी त यो विषय सुरुदेखि नै लेखिरहेका छौं । अर्थतन्त्रका सङ्केत राम्रा छैनन्, गम्भीर मोडतर्फ अर्थतन्त्र जाँदै छ भनेर भनेका थियौँ ।’

उनले एकातिर अर्थतन्त्र ह्रास हुने र अर्कोतर्फ आयात व्यापक रूपमा बढ्ने समस्या औँल्याए । उनले भने,‘हामीले त सरकार सजग हुनुपर्छ भनेका थियौँ । तर, सरकारका जिम्मेवार मान्छेले ७ प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल गर्छौँ भनेर भने । संकटोन्मुखतर्फ अर्थतन्त्र गइरहेको बेला सरकारले समस्याको समाधानको लागि पहलकदमी लिनुपर्दथ्यो ।’

उनले सरकारले सरोकारवालाहरू सबैलाई राखेर अघि अहिले देखिएको समस्या समाधानको लागि कदम चाल्नुपर्नेमा त्यसो नगरेको दुखेसो पोखे । उनले भने,‘समस्या समाधानको लागि सरकारको संवेदनशीलता देखिएन । उपेक्षा गरियो । बीआरआईको कारण श्रीलङ्कामा समस्या आयो भन्ने पनि छ, संवेदनशील भएर काम नगर्दा त्यहाँ समस्या हो । नेपालको समस्या श्रीलङ्काको नेचरको होइन । तर, हाम्रो समस्या पनि चिन्तापूर्ण छ । सबभन्दा पहिले सरकार संवेदनशील हुनुपर्‍यो र सरकारले गम्भीर रूपमा महसुस गर्नुपर्‍यो । जुन ढङ्गले फरेन एक्सचेन्ज रिजर्भ रित्तिँदै छ, यसले सङ्कट ल्याउने कुरा अवश्यम्भावी छ ।’

उनले १९९६ मा भारतसँग भएको ट्रिटी तुलनात्मक प्रगतिशील थियो भन्ने धारणा राखे । उनले भने,‘मुद्रा सञ्चितीमा समस्या आएको छ । सरकार संवेदनशील भएन । मूल्यमा ठुलो चाप पर्ने खतरा छ । रोजगारीको अवसर सिर्जना गर्ने कुरामा समस्या पनि आउनेछ । भोलि सबैतर्फ समस्या आयो भने रेस्क्यु गर्ने अवस्था कठिन छ, सरकारले महसुस गर्नुपर्‍यो कि अब गम्भीर सङ्कटतर्फ उन्मुख छौं भनेर । ऋणको अंश बढिरहेको छ। जिडिपीको ४३ प्रतिशत पुगेको छ। यो एक प्रकारको उच्च हो । एकातिर ऋण बढ्ने अनि अर्कोतर्फ अर्थतन्त्र रसातलमा गइरहने र ठुलो समस्या आउने खतरा छ ।’

अब समस्या समाधानको लागि बृहत् रूपमा हुनुपर्नेमा उनको जोड थियो । उनले भने,‘पुँजीगत खर्च बढाउनुपर्छ । विदेशी सहायताको उपभोग गर्ने क्षमताको वृद्धि गर्नुपर्छ । अनुत्पादक खर्चलाई घटाउनुपर्छ । फजुल खर्च तत्काल कटाउनुपर्छ । स्पेसल फण्ड क्रियट गर्नुपर्छ । त्यो पैसा जहाँ समस्या छ, त्यहाँ लगानी गर्नुपर्छ । एक्सचेन्ज रेट पोलिसीलाई रिभ्यु गर्नुपर्छ । ठोस कार्ययोजना र कार्यान्वयनको नीति पनि बनाउनुपर्छ । अब एक्सनमा जान ढिलो भयो । विस्तृत कार्ययोजना बनाएर एक्सनमा गइहाल्नुपर्छ । महासङ्कटमा पुग्नबाट जोगिनुपर्छ । हाम्रो पनि अर्थतन्त्र कोभिडले असर पारेको अर्थतन्त्र हो । अझ बढी प्रताडित नहोस् भनेर बेलैमा सोच्नुपर्छ । श्रीलङ्काजस्तो सङ्कट आउने सम्भावनाको कुरा गर्दा यसै गरी उपेक्षा गरियो भने श्रीलङ्काजस्तो समस्या आउँछ । यो कुराको महसुस गरेर हामीले आवश्यक कदम चाल्नुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ