arrow

युद्ध रोक्न बुद्धभूमिका कलाकार [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
kala01.jpg

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का पूर्व कूलपति वरिष्ठ कलाकार किरण मानन्धरले बुद्धभूमिका कलाकारहरु शान्तिका अनुयायी भएको बताएका छन् । शनिबार विश्व शान्तिको कामना गर्दै बसन्तपुर दरबार स्क्वायरमा भएको प्रत्यक्ष कला प्रदर्शनी कार्यक्रममा बोल्दै मानन्धरले ‘हामी बुद्धभूमिका कलाकारहरु शान्तिका अनुयायी हौं, विश्वभरि शान्ति छाओस्’ भन्दै हौसला बढाउने काम गरे । 

उनले साना साना भाइबहिनी कलाकारहरु आफ्ना लागि गुरु र प्रेरणा भएको बताए । ‘युद्ध त्यागौं बुद्ध रोजौं’ भन्ने अपीलका साथ विश्व शान्ति कला कार्यक्रम आयोजना गरिएको हो । 

स्वतन्त्र सृजनशील कलाकाहरुको पहलमा भएको कार्यक्रममा वरिष्ठ कलाकारहरु राधेश्याम मुल्मी, नरेश सैंजू, जीवन राजोपाध्याय, राजु पिठाकोटे, राजन खड्का, सुनीता राणालगायत कला क्याम्पस र विद्यालयका कलाकारले शान्तिको सन्देश दिने सुन्दर चित्रहरु स्थलगत रुपमा बनाए । 

५९ कलाकार तथा अन्य स्वयंसेवीहरु कार्यक्रममा सहभागी भएको कार्यक्रम संयोजक सुवास क्षितीज श्रेष्ठले बताए । उनले आफ्नो त्रिआयामिक प्रतिष्ठान कलामार्फत ब्रह्माण्डकै एक्लो जीवनयुक्त हाम्रो घर पृथ्वीलाई महाविध्वंशबाट बचाउन युद्ध होइन फूल रोजौं भन्ने प्रतिकात्मक कला प्रस्तुति गरे । 

यसअघि पनि आफूहरुले विभिन्न हिंसा र त्रास रोक्ने समय सन्दर्भ पारेर कार्यहरु गरेको उनले बताए । सन् २००६ को विश्वकपमा फ्रेन्च खेलाडी जिनेदिन जिदानमाथि भएको व्यवहार र टाउको ठोक्याउनेसम्मको गतिविधि मैदानमा भएपछि श्रेष्ठलगायतको पहलमा कलामार्फत नै फुटबललाई एक खेलको रुपमा मात्रै लिएर पक्ष विपक्षमा लागेर हिंसा नभड्काउन कामना गर्दै कला प्रस्तुत गरिएको थियो । 

त्यस्तै उनका अनुसार सन् २०१२ मा विश्व ध्वस्त हुँदैछ भनेर अफबाह फैलाइँदा जताततै अत्यास छाइरहेका बेलामा उनीहरुले कलामार्फत नै शान्त रहन आग्रह गरेका थिए । 

श्रेष्ठले विश्व शान्तिको अपीलमा साथ दिन पनि आग्रह गरेका छन् । हाल रुसले युक्रेनमाथि आक्रमण गरेको ४५ दिन भइसकेको छ र यो युद्ध नरोकिए यसबाटै तेस्रो विश्वयुद्ध हुन सक्ने आँकलनसमेत भइरहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ