arrow

मकवानपुरमा उम्मेदवार टुंग्याउँदै एमाले

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत २७ आइतबार
uml-makawanpur-.jpg

मकवानपुर। मकवानपुरमा नेकपा एमालेले आफ्नो उम्मेदवारहरुको धमाधम टुंगो गराइरहेको छ आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले वडादेखिकै सम्पूर्ण उमेदवार छानेर सिफारिस गरेको छ । जिल्लाको १ सय २ वटै वडामा वडाअध्यक्षसहित सदस्य पदका उम्मेदवार टुङ्ग्याएको हो।

एमाले मकवानपुरले आगामी निर्वाचनको लागि थाहा नगरपालिकामा मेयर र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको छ। स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगरपालिका कमिटीले पालिका प्रमुख पदमा बिष्णुप्रसाद ढकाल र शशीधर सुवेदीलाई सिफारिस गरेको भने उपप्रमुख कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गरेको छ ।

एक जनामात्र उम्मेदवार सिफारिस गर्ने योजना अनुसार नगर कमिटीमा लामो समय छलफल गरि प्रत्यासी उम्मेदवारहरूबीच सहमती जुट्न नसकेपछि दुई जनाको नाम नै जिल्ला कमिटीमा पठाइएको हो । पालिकाका १२ वटा वडाका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार टुङ्ग्याएर जिल्लामा सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ ।

त्यस्तै भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले हालका अध्यक्ष र उपाध्यक्षलाई दोहोर्याएर उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले भीमफेदी गाउँपालिका कमिटीले आगामी निर्वाचनका लागि पालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः वर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णय गरेको हो । यसअघि २०७४ को स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै दुबैमा एमालेका उम्मेदवार हिदम लामा र पार्वती राना विजयी भएका थिए ।

त्यस्तै मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेले ४ जनाको नाम सिफारिस गरेको छ । एमाले बागमती गाउँपालिका कमिटीले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नरबहादुर लामा र राजकुमार तिमल्सिनाको नाम सिफारिस गरेको हो । त्यस्तै गाउँपालिका उपाध्यक्ष पदका लागि भने ५ जनाको नाम सिफारिस गरेको छ । पालिका उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष धनमाया स्याङतान, गोपीकुमारी फुयाल, राधिका तिमल्सिना, शर्मिला वि.क. र सविना योञ्जनको नाम सिफारिस गरेको हो ।

त्यस्तै एमालेले मकवानपुरको राक्सिराङ गाउँपालिकामा अध्यक्षमा बाबुलाल स्याङतान र उपाध्यक्ष पदमा सुन्तलीमाया प्रजाको नाम सिफारिस गरेको छ । पालिकाका सबै वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरू पनि एमालेले टुङ्ग्याएको छ जिल्लामा सिफारिस गरेको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाका वडाहरुमा पनि आफ्ना उम्मेदवार छानेको छ उपमहानगरको १९ वटै वडामा अध्यक्षसहित सबै सदस्यहरु एमालेले छानिसकेको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर  १ मा उत्तम प्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ३ मा रामकुमार पुडासैनी/परेशमान विडारी/कल्पना लामा, ४ मा नवीन सिग्देल, ५ मा सुशील घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा, ८ मा बोलबहादुर कार्की/यशोदा उप्रेती/रमेशकुमार पौडेल, ९ मा नरेन्द्र भण्डारी/लक्ष्मणप्रसाद भण्डारी-गोमा शाह, १० मा धर्मराज बस्नेत/साधना श्रेष्ठ/फूर्वादोर्जे लामा/किताप सिं लामा, ११ मा जुना दाहाल/रामचन्द्र न्यौपाने/दीपक शिवाकोटी, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा,१४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा वसन्तप्रसाद लामिछाने, १७ मा भैरवबहादुर राई/लक्ष्मण खुलाल,१८ मा अनिल बानियाँ र १९ मा  नरनाथ सुवेदी/इन्दिरा तामाङ/रत्नबहादुर ब्लोनको नाम अध्यक्षका लागि सिफारिस गरिएको छ ।

मेयर उपमेयर छान्न बैठक चल्दै

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक बसिरहेको छ ।

बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने गरि बैठक बसिरहेको एक नेताले जानकारी दिएका छन् ।

हेटौँडा उपमहानगरपालिकामा मेयर पदका लागि एमालेभित्र ७ जना आकाङ्क्षी छन् । एमालेबाट पूर्व संविधानसभा सदस्यदेखि जिल्ला सचिवालय समितिका सदस्य गरी सात जनाले मेयरमा आकांक्षा व्यक्त गरेका छन् । २०७० सालमा निर्वाचित संविधानसभाका सदस्य अनन्त पौडेलदेखि एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्यहरू मदनकुमार दाहाल र ध्रुवप्रसाद चौलागाई, बहालवाला मेयर हरिबहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पनि मेयरमा आकांक्षा देखाएका छन् ।

त्यस्तै हेटौँडाको उपमेयर पदका लागि एमालेबाट पाँच जनाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । उपमेयर पदका लागि अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, मेनुका दाहाल लगायतकाले इच्छा व्यक्त गरेका छन् ।

मेयर र उपमेयर पदका उम्मेदवारहरुको आआफ्नो दाबी नाछोदेपछी शनिबार बसेको उपमहानगरपालिका कमिटीको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ