arrow

सुनसरीमा एकलाख राशिको पत्रकारिता पुरस्कार 

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
presh-unioun-sunsuari.jpg

मोरङ। नेपाल प्रेस युनियन सुनसरीले अक्षयकोष स्थापना गरेको छ। इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिने गरी प्रेस युनियनले अक्षयकोष स्थापना गरिएको हो।

गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सृजनशील युवा पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो। जसमध्ये राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सृजनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रहेको छ।

शिवप्रसाद घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले शनिवार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको स्थापना गरिएको हो। आफूहरूले व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उद्देश्यले उक्त पुरस्कारका लागि रकम प्रदान गरिने गरी सम्झौता गरिएको घिमिरेले बताए। ‘पत्रकारिता क्षेत्र समाजको महत्त्वपूर्ण अङ्गको रूपमा मानिन्छ, सो क्षेत्रमा निरन्तर लाग्नेहरूलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले यो अक्षयकोषका लागि हामीले सम्झौता गरेका हौँ,’ उनले भने, ‘सामाजिक उत्तरदायी बन्नुपर्छ भन्ने उद्देश्यले व्यवसायबाट प्राप्त केही रकम छुट्टाइएको हो।’

यता, युनियन सुनसरी अध्यक्ष अधिकारीका अनुसार निरन्तर सक्रिय रूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिने गरी उक्त राशिको अक्षयकोष स्थापना गरिएको हो। उनले भने, ‘एउटा जिल्ला स्तरीय ५१ हजारको र अर्को राष्ट्रिय स्तरीय एक लाख एक हजारको पुरस्कार प्रदान गरिने गरी हामीले प्रस्ताव गरेका थियौँ, सोही अनुसार आज सम्झौता भएको हो।’ उनका अनुसार केही समयअघि मात्रै इटहरीका व्यवसायी तथा काँग्रेस नेता रोहित प्रसाईँले भवन निर्माणका लागि जग्गा दिएका छन्। उक्त जग्गामा भवन बन्ने गरी आफूहरूले काम सुरु गर्न लागिएको अधिकारीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ