- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी र कास्की शाखामा नेपाल प्रेस युनियनले धर्ना दिएको छ । युनियनले महासंघको प्रदेश समिति र शाखा कार्यालयमा एकैपटक सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो ।
पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भएपछि तालाबन्दी गरेर आन्दोलन सुरू गरेको युनियन गण्डकीका महासचिव प्रकाश ढकालले जानकारी दिए ।
‘सदस्यता शद्धीकरणमा महासंघले समान मापदण्डमा फरकफरक लाठी चलाएपछि आफूहरु अन्दोलित भएका हौँ’, उनले भने, ‘पछिल्लो समय एकलौटीरुपमा महासंघले जिल्ला र प्रदेशले सिफारिस नै नगरेका पत्रकारलाई सदस्यता दिने काम भयो । त्यो गलत भयो ।’
आफूहरुले उठाएका काम युनियनको मात्र नभई सबै श्रमजीवि पत्रकारको भएको महासचिव ढकालले उल्लेख गरे । वार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिइएको उनले बताए ।
प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रले महासंघमा गैर पत्रकारलाई झ्यालबाट छिराएर भइरहेका सदस्यहरु काटिएर विभेदपूर्ण निर्णय गरेपछि आफूहरु आन्दोलित भएको बताए । ‘आफूहरु निर्वाचनको विरोधी नभएको र केहीले आरोप मात्र लगाएका हुन्’, उनले भने ।
‘प्रेस युनियन सदैव निर्वाचनको पक्षमा उभिँदै आएको शक्ति हो र भोलिका दिनमा पनि निर्वाचनकै पक्षमा रहन्छ’, अध्यक्ष मिश्रले स्पष्ट पारे । उनले भने, ‘सडकमा काम गरिरहेका नयाँ साथीले सदस्यता प्राप्त गर्नुपर्यो । धेरै पूराना पत्रकारका सदस्यता कायम हुनुपर्यो । मापदण्ड विपरीतका मान्छेलाई जस्केलाबाट छिराएर बबण्डर मच्चाउने कार्य बन्द गरिनुपर्यो ।’
प्रेस युनियनले महासंघको विधानविपरीत थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।