arrow

चिया पसलदेखि करोडौंको मालिकसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
bhagawan-karki.PNG

काठमाडौं । सङ्घर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाहीँ हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई मेहनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै उदाहरण मध्येका एक हुन् भगवान् कार्की । 

चितवनमा जन्मिएर काठमाडौंमा हुर्किएका कार्की नुवाकोटसँग पनि एकदमै नजिक छन् । किनकि उनको मामाघर नुवाकोटको शिवपुरी हो । अहिले उनलाई चिन्नेहरूले समाजसेवी, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता, अझ केहिले राजनीतिमा चासो राख्ने व्यक्ति भनेर पनि चिन्छन् । जसले जुन रूपमा चिने पनि वास्तवमा भगवान् जस्तै छन् भगवान् कार्की । नरिसाउने, सधैँ हाँसिरहने, सहयोगी, मनकारी र नआत्तिने उनको स्वभाव हो ।

सङ्घर्षको यात्रा चिया पसलदेखि करोडौंको मालिकसम्म
वर्तमान अवस्थामा उनलाई चिनेकाले सुन्दा कसैलाई विश्वास लाग्दैन होला कार्की २०४३ सालमा चिया पसलमा भाडा माझ्थे । उनको सङ्घर्ष बाँसबारीमा रहेको सानो चिया पसलबाट सुरु हुन्छ । उनले चिया पसलमा बुबा चुँडा बहादुर कार्की र आमा ईश्वरी कार्कीलाई सहयोग गर्थे । मलाई अहिले पनि याद छ, हाम्रो पहिलो दिनको कमाई ९० रुपैयाँ थियो कार्की भन्छन् । कार्कीले जमलमा ग्लोबल सेन्टर नामको टे«निङ सेन्टर ५ वर्ष भन्दा बढी सञ्चालन गरे । त्यसबाट हजारौँले रोजगारमूलक सिप सिके । त्यहाँ कम्प्युटर, पत्रकारिता र ट्युसन पढाई हुन्थ्यो । ग्लोबल सेन्टरबाट पत्रकारिता र उद्घोषण सिकेकाहरू अहिले राष्ट्रिय स्तरका सञ्चारमाध्यममा कार्यरत छन् । कतिले त मिडिया नै सञ्चालन गरिरहेका छन् । 

२०३५ साल माघ ७ गते जन्मिएका कार्कीको अहिले विभिन्न नुवाकोट, गोर्खा, कास्की, काठमाडौं लगायतका स्थानमा व्यापार व्यवसाय छ । उनले हाल काठमाडौंको धापासी, नुवाकोटको शिवपुरी गाउँपालिका ३ लिखु, गोर्खाको स्वाँरागाउँमा होम स्टे सञ्चालन गरिरहेका छन् । विभिन्न स्थानमा घर जग्गा छ । अझ भनौँ उनी अहिले करोडौंको मालिक बनिसकेका छन् । 

पर्यटन व्यवसायबाट जिन्दगी परिवर्तन
मास कम्युनिकेसन एण्ड जर्नालिज्ममा मास्टर्स गरेका, म्यानेजमेन्टमा स्नातकसम्म अध्ययन गरेका र आम सञ्चारमा रुचि भएका कार्कीले आर्थिक उन्नतिको आधार भने पर्यटन व्यवसाय भएको बुझे । जर्मन र अङ्ग्रेजी भाषामा दक्खल राख्ने उनले युरोपियन मुलुकका पर्यटकलाई घुमाउने गाइडको रूपमा पर्यटन यात्रा सुरु गरे । त्यस क्रममा उनले ३ हजार भन्दा बढी पर्यटकलाई देशका विभिन्न स्थानमा घुमाए । अहिले उनले कर्मालय कल्चरमार्फत पर्यटकहरूलाई विभिन्न स्थानमा भ्रमण गराउने काम गरिरहेका छन् ।

पर्यटन क्षेत्रमा लागेको १० वर्षमा उनले राम्रो आर्थिक प्रगति गरे । यस अवधिमा उनले नुवाकोट, काठमाडौं, गोर्खामा होमस्टे खोले । पोखरा, धाम्पुसमा पनि रिसोर्ट सञ्चालन गरे । उनी भन्छन् –‘देश विकासको आधार पर्यटन हो । मेरो उद्देश्य भनेकै अन्य स्थानमा पनि होमस्टे सञ्चालन गर्ने र अरू होमस्टेसँग पनि समन्वय गरेर सस्टेनेबल टुरिजम प्रवर्द्धन गर्ने हो ।’ पर्यटन क्षेत्रकै कमाइले सम्पत्ति जोडेका भगवानलाई यो सम्पन्न अवस्थामा ल्याउन उनको आमा ईश्वरी कार्की र दाइ पर्यटन व्यवसायी तथा समाजसेवी सुदामा कार्कीको ठूलो सहयोग छ । जर्मन, अष्ट्रिया, इटाली, स्वीटजरल्याण्ड लगायत अन्य युरोपियन मुलुक र चीन तथा भारतको समेत विभिन्न स्थानमा कार्कीले भ्रमण गरिसकेका छन् ।

व्यवसायसँगै समाजसेवाको मनकारी पाइलाहरू
‘विभिन्न कामबाट जति कमाउँछु, त्यसको केही हिस्सा म समाजसेवामा खर्च गर्छु । अन्य समाजसेवीहरू खोज्छु, मिलेर कमजोर वर्गलाई सहयोग गर्छु, मलाई सबैभन्दा धेरै आनन्द यसैमा आउँछ’ सामाजिक कामको कुरा कोट्याउनसाथ कार्कीले भने । करिब ११ वर्ष अघिबाट समाजसेवामा पनि सक्रिय कार्कीको कर्मालय फाउण्डेसन छ । यो संस्थामार्फत उनी विभिन्न स्थानमा समाजसेवाका कामहरू गर्छन् । 

उनले गोर्खाको स्वारागाउँमा २५० जना पढ्ने विद्यालयको भवन निर्माण गरिदिएका छन् । त्यहाँ २० जना दृष्टिबिहिनलाई छात्रवृतिसहित पढ्ने अवसर दिएका छन् । गोर्खाकै आरुघाट आर्वाङमा ४० जनाको शिशु स्याहार केन्द्र सञ्चालन गरेका छन् । चितवनको सौराहामा १० जना अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेका छन् । देशका अन्य विभिन्न स्थानमा २० जना अनाथ बालबालिकाको भविष्य उज्ज्वल बनाउन पढुन्जेलको छात्रवृत्ति प्रदान गरिरहेका छन् । 

लायन्स क्लब अफ काठमाडौं कर्मालयका प्रेसिडेन्ट रहेका कार्कीले भूकम्प, कोभिड महामारीका समयमा विभिन्न स्थानमा स्वास्थ्य शिविर, राहत वितरण जस्ता सामाजिक कार्यहरू गरेका छन् । महिलाहरूलाई आत्मनिर्भर बनाउन उनले कर्मालय ह्यान्डित्र्याफ्ट सञ्चालन गरेका छन् । कर्मालय ह्यान्डित्र्याफ्टमा अरूले काम नलाग्ने भनेका चामलका बोराहरू सङ्कलन गरेर दैनिक जीवनमा प्रयोग हुने चीजहरू बनाई विक्री हुन्छ । यहाँबाट २० जना भन्दा महिलाले रोजगारी पाएका छन् ।

समाजसेवासँगै राजनीतिमा सक्रिय हुने लक्ष्य
आर्थिक रूपमा सम्पन्न भएसँगै समाजसेवामा सक्रिय रहेका कार्कीको अबको लक्ष्य भनेको राजनीति हो । ‘मलाई फोहोरी राजनीति मन पर्दैन । तर हामीजस्ता पढेलेखेका र बुझेका व्यक्तिहरू राजनीतिमा आएर समाज परिवर्तनमा लाग्नुपर्छ’ कार्की भन्छन् । ‘राजनीति भनेकै समाजसेवा हो भन्ने उनको भनाई छ । पैसा कमाउनका लागि व्यापार व्यवसाय गर्नुपर्छ । राजनीति व्यवसाय होइन, विशुद्ध समाजसेवा हो’ उनी भन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ